नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बैठक सुरु भएको हो । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांगाठानिक एवम् राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी पार्टी पार्टीजस्तो हुन नसकेको बताएका छन् । यो केन्द्रीय समिति बैठक पार्टीलाई व्यवस्थित बनाउने विषयमा केन्द्रीत हुने प्रचण्डको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले सरकारकाले गरेको काम कारबाहीका कारण जनतामा आशाको सञ्चार भएको पनि बताएका छन् । प्रचण्डले भ्रष्टचारविरुद्ध र सुशासनका सवालमा सरकारले गरेको काम कारबाहीले जनतामा आशा सञ्चार भएको बताएका हुन् ।
उनले पार्टीलाई स्थापित गराउन सबै नेता कार्यकर्ताको उत्तिकै भूमिका हुने उल्लेख गर्दै यो केन्द्रीय समिति बैठक समग्र योजना बनाउने सन्दर्भमा ऐतिहासिक बन्ने विश्वास लिए ।