बेतुकको संसद अवरोधले फसेको एमालेः एमालेले चिसै पानीले नुहाउने ओलीको संकेत – Janadesh Daily | ePaper

बेतुकको संसद अवरोधले फसेको एमालेः एमालेले चिसै पानीले नुहाउने ओलीको संकेत


जनादेश वाच।

सुन तस्करी प्रकरणमा सत्ता र प्रतिपक्ष आ–आफ्नो अडानमा अडिँदा संघीय संसद निरन्तर अवरुद्ध भयो । सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताको शृंखलाबद्ध संवाद भए । तर, समाधान निस्किनुको सट्टा समस्या गहिरिँदै गइरहेको छ ।

संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरे सक्रिय छन् । निरन्तरको अवरोधले उनी बेखुस देखिन्छन् । संसद अवरोधको ‘सेफ ल्यान्डिङ’ हुन नसक्दा एमालेका लागि पनि निल्नु न ओकल्नु भएको छ ।

संसद अवरोधको आलोचना बढेपछि एकमुष्ट जवाफ फर्काउन आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी ओलीले सुन तस्करीमा सरकारको संलग्नता रहेको दाबी गरे । सरकारी संलग्नता नभई भन्सार छलीको मात्र घटना नभएको दाबी गर्दै उनले भने, ‘सरकारको संलग्नताबिना यो सम्भव छैन । कुन तहको संलग्नता हो, छानबिनपछि थाहा लाग्छ । जसरी सरकारले उच्चस्तरीय छानबिन नगर्न अड्डी लिएको छ, त्यसले पनि त्यही भन्छ ।’

ओलीले प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीको राजीनामासमेत मागे । ‘नालायक’ सरकार चलाउनेले राजीनामा गर्नुपर्ने भन्दै उनले भने, ‘यसै स्थितिबाट देश अघि बढ्न सक्दैन, बढ्न दिइँदैन ।’

गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि अलि बढी खनिएका ओलीले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराको सुन तस्करीमा देखिएको संलग्नताबारे अनुसन्धान नगरिएको प्रति पनि टिप्पणी गरे ।

सत्तारुढ दलहरूले संसदीय समितिमा एमालेलाई मनाउन खोजेका छन् । तर, एमालेले उच्चस्तरीय छानबिनको माग छाडेको छैन । त्यसको स्पष्टीकरण दिँदै अध्यक्ष ओलीले भने, ‘संसदीय समिति गतवर्षै देखियो । समितिमा बहुमत चाहिन्छ, सभापति आफैँ छान्ने । त्यस्ता समितिले विपक्षीले उठाएको यो मुद्दा ड्रामा हो भन्ने प्रतिवेदन दिन बेर लाग्दैन ।’

आफू संसदीय गरिमा राख्नुपर्छ भन्ने पक्षमा भए पनि अहिलेको गठबन्धनले निष्पक्ष छानबिन गर्न नसक्ने भएकाले बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति चाहिएको ओलीको भनाइ छ ।

१० पुसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन काँध थापेको एमाले राष्ट्रपति चुनावसम्म आइपुग्दा सरकारबाट बाहिरियो । तीन महिना नपुग्दै प्रधानमन्त्री प्रचण्ड पूर्वसहमतिबाट पछाडि फर्किएपछि एमालेले संघ र प्रदेश सरकारबाट बाहिरिनुपर्‍यो । त्यसपछि चर्को प्रतिपक्षीय भूमिकामा रहेको एमालेले संसद अवरोधलाई ठूलो औजार बनाएको छ ।

भारतसँग कालापानी, लिपुलेक बंगलादेश मोडलमा भूमि साटफेर हुन सक्छ भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति होस् वा नेपालको प्रधानमन्त्री हुन भारत धाउनुपर्ने आशयको अर्को अभिव्यक्ति एमालेले संसदमा जवाफ माग्यो । संसद अवरोध गर्‍यो । विवादास्पद अभिव्यक्तिमा प्रधानमन्त्री प्रचण्डले संसदमा माफी पनि मागे । तर, सुन तस्करी प्रकरणमा भने सत्ता र प्रतिपक्ष आआफ्नो अडानमा बस्दा लामो समयदेखि संसद अवरुद्ध छ ।

यसअघि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको एमाले पछि हट्नुपरेको थियो । सुन तस्करी छानबिन प्रकरणमा पनि एमालेले ‘चिसै पानीले नुहाऊला ?’

‘ल एमालेले चिसै पानीले नुहायो रे । छाड्यो रे । त्यसरी छाड्न मिल्छ ?,’ ओलीको जवाफ छ, ‘एमालेले छाडिदियो भने अर्कोले उठाउनु पर्दैन ? यो छोड्न मिल्ने मुद्दा हो ?’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्