जनादेश वाच।
प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ लिएर गाउँ जाने भएको छ । उसले तीन चरणमा पार्टीको पूर्वघोषित विशेष अभियान चलाउने निर्णय गरेको छ ।
गत साउन (१७–२१) गतेसम्म राजधानीमा बसेको बैठकले तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ चलाउने निर्णय गरेको थियो ।
बैठकको निर्णय समेटेर माओवादीले २५ लाख जनता र मतदातामा पुग्ने गरी तीन चरणमा अभियान सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको छ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण तथा विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तयार गर्नेछ ।
दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवाभेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थाहरुसँग अन्तरक्रिया गर्ने गरी कार्यक्रम माओवादीले बनाएको छ ।
माओवादीले अभियानको नारा ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ तय गरेको छ ।
मातहतका कमिटीमा सोमबार पठाइएको सर्कुलरमा पार्टी सदस्यता ८ लाख पुर्याउने र जनवर्गीय संगठन र मोर्चा सबै कमिटीको बैठक सम्पन्न गर्ने उल्लेख छ । तीन महिने अभियानमा कम्तीमा २५ लाख जनतालाई प्रत्यक्ष भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेको कामहरूको जानकारी गराउने उल्लेख छ ।