व्यापार सन्तुलनका लागि लगानीमा साझेदारी गर्न कोरियाली लगानीकर्तासँग अध्यक्ष ढकालको आग्रह – Janadesh Daily | ePaper

व्यापार सन्तुलनका लागि लगानीमा साझेदारी गर्न कोरियाली लगानीकर्तासँग अध्यक्ष ढकालको आग्रह


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र दक्षिण कोरियासँगको बढ्दो व्यापार असन्तुलन कम गर्न लगानी साझेदारीका लागि आग्रह गर्नु भएको छ ।

आज काठमाण्डौंमा आयोजित नेपाल कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोरियाबाट हुने आयातको तुलनामा नेपालबाट हुने निर्यात नगण्य रहेकाले व्यापार सन्तुलन मिलाउन जरुरी भइसकेको बताउनु भएको हो ।

अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटी गरी मुख्य चार क्षेत्रहरूमा लगानी साझेदारी बढाउन सकिने बताउनु भयो । यी क्षेत्रहरू नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको र यहि क्षेत्रमै कोरियाली विशेषज्ञता र लगानी विस्तार भइरहेकोले दुवै देशलाई विनविनको अवस्था सृजना हुने पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।

नेपालमा ठुलो लगानीका ३ सय ५० भन्दा बढी कोरियाली उद्यमहरू भएकाले पनि नेपाल कोरियाका लागि आकर्षक लगानी गन्तव्य भइसकेको छ । यसरी बढ्दो साझेदारीलाई थप विस्तार गरी अत्याधुनिक कोरियाली प्रविधि र नेपालको प्राकृतिक स्रोत तथा जनशक्तिको मेल गराउने समय आएकोमा पनि अध्यक्ष ढकालले जोड दिनु भयो ।

नेपालले विकासोन्मुख देशको रूपमा अर्थतन्त्रलाई विविधीकरण गर्न पनि कोरियासँगको साझेदारी महत्त्वपूर्ण रहने पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।

अध्यक्ष ढकालले कोरियाली लगानी विस्तार हुँदा नेपाललाई दक्षिण एसियामा व्यापार र वाणिज्यको केन्द्र बन्न सहयोग पुग्ने पनि बताउनु भयो ।

केही नेपाली बैंक कोरियामा शाखा सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा रहेको उल्लेख गर्दै त्यसलाई सकेसम्म छिटो टुङ्ग्याउन पनि अध्यक्ष ढकालले आग्रह गर्नु भयो । औपचारिक र सहज बैकिङ्ग कारोबारले व्यापार र लगानी बढाउन सहयोग पुग्छ ।

ग्रिन फाइनान्समा कोरियाको अनुभव र नेतृत्वबाट नेपालले फाइदा लिनु पर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले निजी इक्विटी र नयाँ नयाँ उद्यममा यस्तो पुँजी परिचालनमा कोरियाले सघाउनु पर्ने पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो । कोरियामा धेरै नेपाली काम गर्ने भएकाले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा संयुक्त लगानीका अवसरहरूमा पनि काम गर्नु पर्ने अध्यक्ष ढकालले बताउनु भयो ।

त्यसका लागि कोरियाली लगानीकर्तालाई नेपाल आउन, अवसर खोज्न र लगानीको सहज वातावरण बनाउन महासंघले सहयोग गर्न तत्पर रहेको प्रतिबद्ध रहेको पनि अध्यक्ष ढकालले बताउनु भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्