जाजरकोट, रुकुम पश्चिम । चिसो र झाडापखालाका कारण डेढ महिनायता जाजरकोट र रुकुम पश्चिमका ३४ जना भूकम्पपीडितको ज्यान गएको छ । जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ मध्यरातमा गएको भूकम्पपछि खुला आकाशमुनि रात बिताउन बाध्य पीडितहरूमध्ये जाजरकोटका २९ र रुकुम पश्चिमका ५ जनाको ज्यान गएको हो । जसमा १ महिने शिशुदेखि ८९ वर्षीया वृद्धासमेत छिन् ।
गाउँपालिका प्रमुख गिरीले अस्थायी टहरा बनाउन रकम वितरण सुरु भइसके पनि लाभग्राहीको संख्या यकिन गर्न समय लागेको बताए । ‘अस्थायी टहराका लागि अनुदान दिन पनि लाभग्राहीको संख्या यकिन नहुँदा ढिला भएको छ,’ उनले थपे, ‘मापदण्डअनुसार आफैं टहरा बनाउन भनेका छौं । यसरी बनाएकालाई अनुदान पाउने व्यवस्था मिलाउँछौं ।’
तर राहत र अनुदानअघि अस्थायी बसोबासको व्यवस्थासमेत नहुँदा स्थानीयको दैनिकी निकै कष्टकर छ । जाजरकोटको नलगाड नगरपालिका–३ का ५२ वर्षीय कलुराम विकको ७ जनाको परिवार अहिले पनि त्रिपालमै छ । चिसो बढ्दै गएपछि मकैको ढोडले वरिपरि बारेर उनले जसोतसो परिवारलाई चिसोबाट जोगाउन खोजेका छन् । तर, अनुदान रकम नपाउँदा अस्थायी टहरा बनाउन समस्या भएको उनले बताए । ‘कर्मचारी आएर दिन्छन् भन्ने सुनेको, अझसम्म कोही पनि आएनन्,’ उनले भने, ‘कहिले छाप्रो बन्ने हो केही थाहा छैन ।’
भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मात्रै झन्डै ५५ हजार परिवार घरबारविहीन भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार जाजरकोटमा झन्डै ३१ हजार र रुकुम पश्चिममा २४ हजार परिवार विस्थापित भएका छन् । तर, अहिलेसम्म जाजरकोटमा ३ हजार ३ सय ९ र रुकुम पश्चिममा १९ हजार ९ सय ३४ परिवारले मात्र अस्थायी टहरा निर्माणका लागि पहिलो किस्ताबापत २५ हजार रुपैयाँ बुझेका छन् । विभिन्न राजनीतिक दलले दुवै जिल्लामा गरी झन्डै ५ हजार टहरा निर्माण गरे पनि अझै आधाभन्दा बढी भूकम्पपीडित त्रिपालकै भरमा छन् । राजनीतिक दलहरूले निर्माण गरेको अस्थायी आवासको तथ्यांक जिल्ला विपद् व्यवस्थापन समितिसँग छैन ।
जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले पहिलो किस्ताको रकम लिएका झन्डै ३ हजार परिवारले टहरा निर्माण गरेको जानकारी दिए । उनका अनुसार अझै २ पालिकामा टहरा निर्माणको रकम पठाइएको छैन । ‘पैसा नै पुगेन, नलगाड र जुनेचाँदेमा पठाउन सकेका छैनौं,’ उनले भने, ‘थप ५० करोड रकम मागेका छौं, तर रकम आउने/नआउने निश्चित छैन ।’ उनका अनुसार नलगाडमा ८ हजार ९७ र जुनेचाँदेमा २ हजार ५ सय ६३ लाभग्राहीको पहिचान भएको छ ।
पहिलो किस्ताको रकम नआउँदा भूकम्पपीडितले आफैं अस्थायी आवास बनाउन थालेको नलगाड–४ का वडाध्यक्ष बद्री पन्तले बताए । वडाभरि झन्डै ५ सय घर पूर्ण रूपमा भत्किए पनि ४० वटा टहरा निर्माण भएको उनले बताए । नलगाड–१ का वडाध्यक्ष धनबहादुर महरले पनि अस्थायी आवासका लागि रकम नआउँदा भूकम्पपीडित निराश बन्न थालेको सुनाए । भूकम्पमा परी वडाभर २७ जनाको ज्यान गएको थियो भने १९ जना घाइते भएका थिए । वडाभरि ८ सय ५० घर पूर्ण रूपमा क्षति भएकामा अझै पनि मुस्किलले ५० वटा मात्र टहरा निर्माण भएका छन् । ‘चिसोले पालैपिच्छे बिरामी भएका छन्, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र सुत्केरीलाई बचाउनै मुस्किल भइसक्यो,’ उनले भने, ‘सरकारले दिने रकम आएको छैन, केही टहरा स्वयंसेवकले बनाइदिएका छन्, केहीले त अनुदानको आसै मारेर आफैं टहरा बनाउन थालेका छन् ।’
अस्थायी आवास निर्माणका लागि संघीय सरकारले रुकुम पश्चिम र जाजरकोटमा ५०–५० करोड रुपैयाँ पठाएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिले उक्त रकम स्थानीय तहमार्फत लाभग्राहीलाई वितरण गरिरहेको छ । त्यसमध्ये रुकुम पश्चिममा करिब ४९ करोड रुपैयाँ वितरण गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । उनका अनुसार जिल्लाभर झन्डै २ हजार अस्थायी टहरा बनेका छन् ।
घरबासविहीन रुकुम पश्चिमका भूकम्पपीडितका लागि अस्थायी टहरा बनाउने काम सुस्त छ । सरकारले पहिलो किस्ताबापत दिने २५ हजार रुपैयाँ लाभग्राहीसम्म पुग्न ढिला भएका कारण टहरा बनाउने काम पनि सुस्त भइरहेको हो । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ छेपारेका ललित विकले स्थानीय काठपात प्रयोग गरेर टहरो ठड्याए पनि पैसा नहुँदा जस्तापाता किन्न नसकिएको बताए । ‘सरकारले २५ हजार दिन्छ भनेर वडामा कागजात बुझाएका छौं । तर अहिलेसम्म आएको छैन,’ उनले भने, ‘चाँडै आउने भनेको छ । त्यसपछि टिन हालेर त्रिपालबाट यहाँ सर्ने योजना छ ।’
त्यस्तै जाजरकोटको नलगाड–१ का सुरेश विकले पनि रकमको पर्खाइमा रहेको बताए । ‘अहिलेसम्म त त्रिपालकै बास छ । घर बनाउने काम थालेका छौं । पैसा आएपछि टिन किनेर छाउनुपर्ला,’ उनले भने । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले उपलब्ध गराएको तथ्यांकअनुसार बिहीबारसम्म जिल्लाभर १९ हजार ९ सय ३४ जना लाभग्राही कायम भएका छन् । उनीहरूका लागि जिल्ला विपद् व्यवस्थापन कोषबाट ४९ करोड ३ लाख ५० हजार रकम स्थानीय तहको कोषमा पठाइएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले यसमध्ये १९ करोड ७ लाख रुपैयाँ मात्रै लाभग्राहीसम्म पुगेको बताए । आठबिसकोट नगर प्रमुख रवि केसीले ढिलो गरी लाभग्राही छनोट भएको र हाल उनीहरूको खातामा रकम पठाउने काम भइरहेको बताए । ‘वडा–वडाबाट मुचुल्कासहित तथ्यांक आउने क्रम जारी छ । रीत पुगेर आएका लाभग्राहीलाई रकम दिन ढिला हुँदैन,’ उनले भने, ‘हामी केही दिनभित्रै सबै लाभग्राहीसम्म रकम पुर्याउँछौं ।’
जाजरकोटमा पनि रकम स्थानीय तहमा गइसके पनि लाभग्राहीसम्म पुग्न सकेको छैन । सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माका अनुसार जाजरकोटमा २७ हजार ६ सय ६७ जना लाभग्राही कायम भएका छन् । ५० करोड ९८ लाख ७५ हजार रकम स्थानीय विपद् व्यवस्थापन कोषमा पठाएको बताउँदै सहायक प्रजिअ शर्माले अहिलेसम्म ४० लाख रुपैयाँ मात्रै लाभग्राहीसम्म पुगेको जानकारी स्थानीय तहहरूबाट प्राप्त भएको सुनाए ।
जिल्लाबाट पहिलो किस्ताबापत रकम प्राप्त भइसके पनि भूकम्पपीडितहरू सरकारी मापदण्डमा भन्दा अस्थायी टहरा बनाउनमा केन्द्रित भएको जाजरकोटको नलगाडका नगर प्रमुख डम्बरबहादुर रावत बताउँछन् । ‘प्रहरी मुचुल्काको काम सकिएर लाभग्राही यकिन गर्ने काम सकिएको छ,’ उनले भने, ‘यसबाहेक लाभग्राहीसँग सम्झौता गरेर रकम प्रदान गर्ने काममा भने केही ढिलाइ भइरहेको छ । चाँडै नै सबै पीडितसम्म पहिलो किस्ता पुग्नेछ ।’
रुकुम पश्चिममा अहिलेसम्म १८ सय १६ अस्थायी टहरा निर्माण भएको जिल्ला प्रशासनको तथ्यांक छ । यससँगै ४८ सय ९८ टहरा निर्माणाधीन छन् भने विभिन्न राजनीतिक दल, संघसंस्थाबाट श्रमदानमार्फत ७ सय ९१ टहरा बनेको पनि प्रशासन कार्यालयले बताएको छ । सानीभेरी–४ गोलचौरका डम्बर ओलीले घर बनाउन काठपात र जनशक्तिको अभाव खेपिरहेको बताए । ‘सरसामान पनि पाउँदैन अनि काम गर्ने मान्छे पनि पाउन मुस्किल छ,’ उनले भने ।
भूकम्प प्रभावित दुवै जिल्लामा पहिचान हुने क्रम जारी रहेकाले लाभग्राहीको संख्या बढ्दो क्रममा छ । तर, उनीहरूका लागि भनेर आएको रकम भने अपुग भएको दुवै जिल्लाका प्रशासन कार्यालयले बताएका छन् । जाजरकोटका सहायक प्रजिअ शर्माले अहिलेसम्म आएको सबै रकम स्थानीय तहबाट माग भएबमोजिम पठाइएको र अब थप रकम नभएकाले माग गरिएको बताएका छन् । थप ५० करोड रकम पहिलो किस्ताका लागि माग गरेको उनको भनाइ छ । त्यस्तै रुकुम पश्चिमका निमित्त प्रजिअ बडुवालले पनि लाभग्राहीको संख्या बढ्दो क्रममा रहेको र थप रकम माग गरिएको बताए । कान्तिपुरबाट