एजेन्सी ।
क्याटलान क्लब बार्सिलोनाले आफ्ना पुर्व खेलाडी रोनाल्ड कोम्यानलाई टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । नेदरल्यान्ड्सका प्रशिक्षक कोम्यानले राष्ट्रिय टोली छाड्दै बुधबार नियुक्त गरिएको क्लबले उल्लेख गरेको छ ।
डच टोलीको मुख्य प्रशिक्षक समेत रहेका ५७ वर्षीय कोम्यानलाई बार्सिलोनाले दुई वर्षको सम्झौता गरेका हुन् । कोम्यान यसअघि १९९८–२००० मा बार्सिलोनाको सहायक प्रशिक्षक समेत बनेका थिए । उनी त्यतिबेलाका प्रशिक्षक लुइस भान गालको सहायक रहेका थिए । बार्सिलोनाले मुख्य प्रशिक्षक क्विके सेटिनलाई बर्खास्त गरेको दुई दिनपछि कोम्यानलाई मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो ।
खराब प्रदर्शनसँगै बार्सिलोनाले गत जनवरीमा एर्नेस्टो भाल्भेर्डेको स्थानमा मुख्य प्रशिक्षक बनेका सेटिनलाई ७ महिनामै गत सोमबार बर्खास्त गरेको थियो । सेटिनको प्रशिक्षणमा बार्सिलोना एक दशकपछि उपाधिविहीन बन्न पुगेको थियो ।
सेटिनको प्रशिक्षणमा बार्सिलोनाले २५ खेल खेल्दा १६ जित, पाँच हार र ४ बराबरीको नतिजा निकालेको थियो । लिस्बनमा शुक्रबार च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोरेपछि उनको पद धरापमा परेको थियो ।
पूर्व डिफेन्डर तथा मिडफिल्डर कोम्यानले बार्सिलोनाबाट सन् १९८९ देखि १९९५ सम्म खेलेका थिए । कोम्यानले बार्सिलोनालाई चार लिग उपाधि र एक युरोपियन कप जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए । ६ सिजन क्लबमा रहदा उनले २६४ खेलमा ८८ गोल गरेका थिए । उनले नेदरल्यान्डबाट ७८ क्याप जित्दै १४ गोल गरेका छन् ।
२०१८ फेब्रुअरीमा नेदरल्यान्डको मुख्य प्रशिक्षक बनेका कोम्यानको प्रशिक्षणमा नेदरल्यान्डले २० खेल खेल्दा ११ जित, ५ बराबरी र चार खेलमा हारको नतिजा निकालेको थियो । त्यसअघि उनी इंग्लिस क्लब एभर्टनका प्रशिक्षक रहेका थिए ।