एजेन्सी ।
क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टाेमेउले यो सिजन ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार पुनः अनुबन्धन ‘असम्भव’ रहेको बताएका छन् ।
नेयमार २०१७ मा विश्व कीर्तिमानी १९८ मिलियन पाउन्डमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । तर, नेयमारले पीएसजी पुगेको अर्काे वर्ष नै स्पेन फर्कन चाहेको बताएपछि बार्सिलोनाले उनलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । अघिल्लो सिजन नै सहमति नजिक पुगेपनि अन्तिम समयमा दुई क्लबबीच सहमति हुन नसक्दा नेयमार पीएसजीमै रहनु परेको थियो ।
यो सिजन पनि बार्सिलोनाले नेयमारलाई अनुबन्ध गर्ने प्रक्रिया थालेको थियो । तर, कोरोना भाइरस (कोभिड–१९) ले विश्वको अर्थतन्त्र नै ध्वस्त पारेपछि बार्सिलोनाका अध्यक्ष बार्टाेमेउले महँगा नेयमार अनुबन्ध गर्न असम्भव रहेको बताएका हुन् ।
गत साता जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोर्दै क्वाटरफाइनलबाट बाहिरिएपछि नेयमार पुनः अनुबन्धनको विषयमा बार्सिलोनामा छलफल भएको थियो । तर, अध्यक्ष बार्टाेमेउले यो अवस्थामा नेयमार अनुबन्धन असम्भव रहेको बताएका हुन् । नेयमारले क्लब छाडेयता नै बार्सिलोना च्याम्पियन्स लिगमा क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन ।
फ्रान्स फुटबलमा एकछत्र राज गरेको पीएसजीका लागि नेयमारको प्रदर्शन उच्च रहँदै आएको छ । नेयमारकै उच्च प्रदर्शनमा पीएसजी क्लबको इतिहासमा पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति जर्मन क्लब आरबी लाइप्जिगमाथि ३–० को सहज जित निकाल्दै पीएसजीले फाइनलमा स्थान बनाइसकेको छ । पीएसजीले अब उपाधिका लागि जर्मन क्लब बायर्न म्युनिखको सामना गर्नेछ । बायर्नले बुधबार राति फ्रेन्च क्लब लियोनमाथि ३–० को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको छ ।
‘यो सिजन नेयमार र बार्सिलोनाको पुनर्मिलनको कुनै सम्भावना छैन । किनकि पीएसजीले आफ्ना स्टार खेलाडीलाई बेच्न चाहेको छैन,’ बार्टाेमेउले बार्सा टिभीलाई भने, ‘उनको क्लबले स्टार खेलाडी बेच्न चाहदैन । अघिल्लो सिजन हामीले प्रयास गरेका हौं । यो विषम अवस्थामा ल्याउन निकै कठिन छ । यो सामान्य कुरा हो । ठुला क्लबहरु ठुला खेलाडी नै चाहन्छन् ।’
बार्सिलोनाले यो समरमा क्लबमा ठुलो परिवर्तन गर्न लागेको छ । क्विके सेटिनको बर्खास्तीपछि क्लबले नयाँ प्रशिक्षकको रुपमा आफ्ना पुर्व खेलाडी रोनाल्ड कोम्यानलाई बुधबार मुख्य प्रशिक्षक बनाएको छ । तर, क्लबमा कप्तान लियोनेल मेस्सीको भविष्य अनिश्चित छ । यद्दपि क्लबका अध्यक्ष बार्टाेमेउ मेस्सी क्लबमै रहनेमा विश्वस्त छ ।
‘कोम्यान नयाँ व्यवस्थापक हुनेछन् । उनले मेस्सी हाम्रो नयाँ प्रोजेक्टको लागि एक प्रमुख खेलाडी हुने बताएका छन् । उनीसँगको सम्झौता अझै एक वर्ष बाँकी छ,’ अध्यक्ष बार्टाेमेउले भने, ‘म लियोसँग धेरै कुरा गर्छु । नियमित रुपमा उनका बुवासँग पनि कुरा गरिहेको छु । उनी विश्वको नम्बर एक खेलाडी हुन् । कोम्यानको नयाँ प्रोजेक्टमा मेस्सी रहनेछन् । यसमा कुनै शंका छैन ।’