मुकुल ढकाल महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त – Janadesh Daily | ePaper

मुकुल ढकाल महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. मुकुल ढकाललाई पार्टीको पदीय जिम्मेवारीबाट हटाएको छ ।

मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार पार्टीको हितविपरीत काम गरेको, स्पष्टीकरणमा विधि र प्रक्रिया नपुर्‍याएको भन्दै उनलाई पदमुक्त गरिएको हो । तर, उनलाई साधारण सदस्यबाट भने हटाइएको छैन ।

यसअघि आन्तरिक प्रतिवेदनका विषय मिडियामा चुहाएर पार्टीलाई बदनाम गरेको भन्दै अनुशासन समितिले साधारण सदस्य पनि नरहनेगरी कारबाही गर्न सिफारिस गरेको थियो । अनुशासन समितिले ढकालबाट पार्टीको हितविपरीत काम भएको भन्दै साधारण सदस्य पनि नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो ।

साधारण सदस्य पनि नहरने गरी हदैसम्मको कारवाही गर्नेपर्ने सिफारिस अनुशासन समितिले गरेको सांसद सोविता गौतमले जानकारी दिइन् । ‘उहाँलाई साधारण पनि नहरने गरी हदैसम्मको कारवाही गर्नुपर्छ भनेर अनुशासन समितिले सिफारिस गरेको थियो,’ गौतमले भनिन्, ‘तर केन्द्रीय सदस्यको राय साधारण सदस्य कायम राखौं, पदीय जिम्मेवारीबाट मुक्त गरे हुन्छ । साधारण सदस्यबाट पनि पदमुक्त गर्नु हुँदैन भन्ने आएपछि साधारण सदस्य कायम राखेका हौं ।’

आफूमाथि कारवाही भएको विषयमा ३५ दिनभित्र ढकालले पुनरावेदन दिन सक्ने निर्णय पनि रास्वपाले गरेको गौतमले जानकारी दिइन् ।

ढकालले पार्टी निरन्तर कमजोर हुँदै गएको, सभापतिको कार्यशैली उचित नभएको भन्दै ३२ पृष्ठको प्रतिवेदन सभापतिलाई बुझाएका थिए । प्रतिवेदनको विषयमा केन्द्रीय समिति बैठकमा लाइभ गर्नुपर्ने माग अडान राखेपछि रास्वपाले एक हप्ताअघि उनलाई सात दिन पदबाट निलम्बन गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्