काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले सरकारको पछिल्लो गतिविधि प्रतिगमनउन्मुख देखिएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै बस्नेतले विद्युत् प्राधिकरण र संविधान संशोधनका विषयमा वर्तमान सरकार सुशासनतर्फ नभइ प्रतिगमनउन्मुख देखिएको आरोप लगाए ।
वर्तमान सरकारले सस्तो लोकप्रियताकाका लागि काम गर्न खोजेको उनले जिकिर गरे ।
यसअघि लेखा समितिले गरेको निर्णय र अदालतको आदेशविपरीत हाल लेखा समितिमा भइरहेका बहस असान्दर्भिक रहेको जिकिर गरे ।
सार्वजनिक संस्थानमाथि भएको सरकारको हस्तक्षेपले तिनीहरू थप धराशयी हुने उनले बताए ।
विद्युत् प्राधिकरणका दुई सदस्यको बर्खास्तीप्रति आपत्ति जनाउँदै बस्नेतले आफ्नो फरक मत राख्दा कारवाही गर्नुले लोकतन्त्रमाथिको उपहास भएको धारणा राखे ।
त्यस्तै बस्नेतले स्थायित्व र विकासका नाममा संविधान संशोधन गरेर निर्वाचन प्रणाली र संघीयतामाथि कैंची लगाउने कोशीसमा कांग्रेस–एमाले रहेको आंशका गरे ।
उनले संशोधनका नाममा हुने प्रतिगमन कुनै अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारे । संघीय लोकतान्त्रीक गणतन्त्रको आत्मालाई मास्ने गरि संशोधनका नाममा देशलाई घात गर्न नपाइने उनको भनाइ छ ।