आन्ध्र प्रदेशको अनाकपल्लीको अच्यतापुरम्स्थित विशेष आर्थिक क्षेत्र ९सेज० मा रहेको एक औषधि कम्पनीमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।
यसअघि बुधबार दिइएको जानकारीमा कम्तीमा तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएको बताएका थिए । अनाकपल्लीका जिल्ला प्रशासक विजय कृष्णनले मृत्यु सङ्ख्या १७ पुगेको पुष्टि गरेका छन् ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले घटनाको उच्चस्तरीय छानबिन गर्न निर्देशन दिएका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै व्यक्तिको हताहत भएको उक्त दुर्घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन् ।
प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई २ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनाकपल्लीको एक कारखानामा भएको दुर्घटनामा परी भएको धेरै व्यक्तिको हताहतले दुःखी बनाएको छ । आफ्ना प्रियजनहरूलाई गुमाएकाहरूप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना ! ’