आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै – Janadesh Daily | ePaper

आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै


काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइँने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

कंसको बढ्दो अत्याचार र पापको भारबाट पृथ्वीलाई मुक्ति दिलाउन वासुदेव र देवकीको आठौं गर्भको रूपमा कंशको कारागारमा भगवान श्रीकृष्णको जन्म भएको थियो । मथुराका राजा उग्रसेनका पुत्र कंश देवकीका दाजु र श्रीकृष्णका मामा थिए।

कुरुक्षेत्रमा भएको कौरव र पाण्डवबीचको महाभारत लडाईँमा धर्मको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथी रही श्रीकृष्णले युद्धमा साथ दिएका थिए । युद्धको क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भागवत गीता हो ।

युगावतार भगवान श्रीकृष्णको युगसँगै द्वापर युगको अन्त्य र कलियुगको प्रारम्भ भएको धर्मशास्त्रमा उल्लेख छ । उनले बाल्यकालमै पुतना, बकासुर, प्रलम्बासुर आदि ठूलाठूला वीर असुरहरूको वध गरेको उल्लेख छ। इन्द्रको घमण्ड चूर गर्न श्रीकृष्णले आफ्नो कान्छी औंलाले ७ दिनसम्म गोवर्द्धन पर्वत उठाएर गोप र गाईको रक्षा गरेको चामत्कारिक क्रियाकलाप पनि शास्त्रमा उल्लेख छ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तनका साथै रातभर जाग्राम बस्ने चलन छ । आज विशेष गरी इस्कोन मन्दिरहरूमा श्रीकृष्णको भव्य रूपमा पूजाआजा हुने गर्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्