शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा हिन्दुलगायत अल्पसंख्यक लगातार निशाना बनिरहेका छन् ।
हिन्दु, बौद्ध र इसाई शिक्षकलाई जबरजस्ती राजीनामा दिन बाध्य पारिएको घटना बाहिर आएको छ । रिपोर्टका अनुसार हालसम्म ४९ जना शिक्षकलाई जबरजस्ती राजीनामा गराइएको छ ।
द डेली स्टारको रिपोर्टअनुसार बंगलादेश छात्र ओइक्या परिषदले जटिया प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा यस्तो खुलासा गरेको हो । संस्थाका संयोजक साजिब सरकारले हसिना नेतृत्वको सरकार ढलेपछि धार्मिक तथा जातीय अल्पसंख्यकहरू हिंसाको शिकार बनिरहेको बताए ।
बंगलादेश छात्र ओइक्या परिषद बंगलादेश हिन्दु-बौद्ध-इसाई ओइक्या परिषदको विद्यार्थी संगठन हो ।
साजिब सरकारका अनुसार हिंसामा हिन्दुमाथि आक्रमण, लुटपाट, महिलामाथि आक्रमण, मन्दिरमा तोडफोड, घर तथा व्यापारिक प्रतिष्ठानमा आगजनी र हत्यासमेत समावेश छ । देशभरका अल्पसंख्यक शिक्षकहरूले पनि शारीरिक उत्पीडनको सामना गरेका छन् । यसका कारण ३० अगस्टसम्म ४९ जना शिक्षकले राजीनामा दिन बाध्य हुनुपर्यो । यद्यपि, १९ शिक्षकलाई पुनर्बहाली गरिएको छ ।
५ अगस्टमा शेख हसिनाले विद्यार्थीहरूको चर्को विरोधका बीच प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । विरोध प्रदर्शनमा चार सयभन्दा बढी मानिसको ज्यान गएको थियो । त्यसपछि हसिनाले आफ्नो देश पनि छाडेकी थिइन् । बंगलादेश जातीय हिन्दु मोहजोतले ५ अगस्टदेखि देशका ४८ जिल्लाका २७८ स्थानमा हिन्दु परिवारले हिंसा र बर्बरताको समना गर्नुपरेको बताए ।
बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले शपथ ग्रहण गरेपछि हिन्दुविरूद्धको हिंसा रोक्ने बताएका थिए । उनले देशमा संविधान कायम गर्ने बताएका थिए । तर, त्यसले कुनै प्रभाव पारेको देखिँदैन ।