एजेन्सी ।
बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख यो सिजन निकै फर्ममा छ । टोली गोल मेसिनका रुपमा स्थापित भएको छ । यो सिजन सबै खाले प्रतियोगितामा गरि बायर्नले १ सय ५८ गोल गरिसकेको छ ।
उच्च प्रदर्शनबाट प्रेरित टोली अर्को च्याम्पियन्स लिग उपाधिको नजिक रहेको छ । आइतबार लिस्बनमा हुने फाइनलमा बायर्नले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) को सामना गर्नेछ ।
आइतबारको फाइनलमा बायर्नसँग दुई वटा कीर्तिमानसँग बराबरी वा त्यसलाई पनि तोड्ने अवसर छ ।
यदि बार्यनले थोमस टुचेलको टोलीविरुद्ध ३ गोल गर्न सकेको खण्डमा च्याम्पियन्स लिगमा बार्सिलोनाको कीर्तिमानसँग बराबर गर्नेछ । बार्सिलोनाले सन् १९९९-२००० को सिजनमा ४५ गोल गरेको थियो ।
त्यति बेला काटलान टोलीले १६ खेलमा २.८ को औसतमा गोल गरेको थियो । अहिले कोभिड १९ का कारण च्याम्पियन्स लिगका खेल घटेका छन् । बार्यनले जम्मा ११ खेलमा ४.२ को औसतमा ४२ गोल गरेको छ ।
अर्कोतर्फ बायर्नका फरवार्ड रोबेर्ट लेवान्डोवस्कीले फाइनलमा २ गोल गरेको खण्डमा उनले युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानसँग बराबरी गर्नेछन् । २०१३-१४ को सिजनमा रोनाल्डोले च्याम्पियन्स लिगमा १७ गोल गरेका थिए ।
पोल्यान्डका स्ट्राइकरले यो सिजन ४६ खेलमा ५५ गोल गरिसकेका छन् । त्यस्तै उनले च्याम्पियन्स लिगमा पछिल्ला ९ खेलमा गोल गर्न सफल भएका छन् । सेमिफाइनलमा लियोनविरुद्ध हेडमार्फत गोल गरेका लेवान्डोवस्कीको यो सिजन च्याम्पियन्स लिगमा १५ गोल पुगेको छ ।