एजेन्सी ।
क्लबसँग सम्झौता नविकरण गर्ने प्रक्रिया रोकिएको अवस्थामा बार्सिलोना कप्तान लियोनल मेस्सी र नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानबीच बिहीबार भेटघाट भएको थियो । भेटघाटको मुख्य विषय बार्सिलोनामा मेस्सीको भविष्य के हुने भन्नेमा थियो ।
यसबीचमा मेस्सीका पूर्व सहकर्मी याया टुरेले क्याम्प नोउ छाडेको खण्डमा इन्टर मिलान भन्दा म्यानचेस्टर सिटी उपयुक्त हुने सल्लाह दिएका छन् । मेस्सीका लागि खर्च गर्न सिटी सक्षम रहेको टुरेले बताएका छन् । प्रशिक्षक पेप गुआर्डीओलासँग रहँदा मेस्सीले उत्कृष्ट प्रदर्शन गरेको कारण पनि सिटी उनको गन्तव्य बन्न सक्छ ।
‘यदि मेस्सीले बार्सिलोना छाड्ने भने उनी म्यानचेस्टर सिटी जान सक्छन्’, सिटीका पूर्व स्टार टुरेले भने, ‘सिटी उनलाई खरिद गर्न सक्षम छ । इमान्दारपूर्वक भन्दा प्रिमियर लिगमा केहि क्लब मात्र उनलाई किन्ने क्षमता राख्छन् ।’
यद्दपी टुरेले मेस्सीले बार्सिलोना छाड्नेमा भने शंका गरेका छन् । उनले भने, ‘मलाई थाहा छ मेस्सीले बार्सिलोनालाई एकदम माया गर्छन । उनलाई त्यहाँको माहोल मन पर्छ ।’
टुरेले मेस्सी इग्ल्यान्ड जाँदाको अवस्थामा केहि आलोचनाको सामना भने गर्नुपर्ने अनुमान गरे । ‘ यदि उनी सिटीमा गए भने प्रिमियर लिग थप रोचक हुनेछ । लिग पनि रोमाञ्चक र थप प्रतिस्पर्धात्मक हुने छ,’ उनले भने, ‘जसरी मेस्सी खेल्छन् उनीविरुद्ध खेल्ने प्रशिक्षणले पनि त्यसरी नै तयारी गर्नेछन् । उनले केहि आलोचनाको सामना भने गर्नुपर्छ ।’