एजेन्सी ।
बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानले क्लबका कप्तान तथा स्टार फरवार्ड लियोनल मेस्सीलाई क्याम्प नोउमै राख्न चाहेको प्रष्ट पारेका छन् ।
नयाँ सम्झौता गर्न आनाकानी गरिरहेका अर्जेन्टिनी सुपरस्टार इटालियन क्लब इन्टर मिलान, इग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) मध्ये एक टोली जान सक्ने चर्चाका बीच कोम्यानको यस्तो भनाई सार्वजनिक भएको हो । मेस्सी सिजन समाप्त भएपछि आफू छुट्टिमा रहेपनि कोम्यानसँग बैठक बस्न बिचमै बार्सिलोना फर्केका थिए ।
‘पेप ग्वार्डिओलासँग अहिले पनि मेरो धेरै कुराकानी हुन्छ । उनले भन्ने गरेका छन् मेस्सीसँग काम गर्दा मजा हुन्छ,’ कोम्यानले भने, ‘उनी भनेका विजेता हुन् । तर यदि जित्न सकेनन् भने उनी निराश हुन्छन् ।’
कोम्यानले मेस्सीको भावना महत्वपूर्ण हुने बताए । ‘म उनीसँग काम गर्न इच्छुक छु’ , उनले थपे, ‘उनले यहि आफ्नो खेल जीवनको अन्त्य गर्नुपर्छ किनकी उनी भनेको बार्सिलोना हो । बार्सिलोना भनेको मेस्सी हो ।’
मेस्सीलाई बार्सिलोनामै रहन मनाउनका लागि कोम्यानले अन्य खेलाडीका बारेमा पनि योजना सार्वजनिक गरेका छन् । उनले टोलीका अन्य खेलाडीलाई पनि सहि ठाँउबाट खेलाउनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘फ्रेन्की डी जोङलाई सेन्टर मिडफिल्डमा खेलानुपर्छ । मेरो विचार यहि हो । यदि युवा खेलाडीलाई थुप्रै लगानी गरिएको छ भने उनीहरुलाई आफ्नो पोजिसन अनुसार मौका दिनुपर्दछ । त्यसले उनीहरुलाई प्रदर्शन गर्न सहिजलो हुनेछ ।’
एन्टोइन ग्रिजमनको हकमा पनि उनलाई सहि ठाँउमा खेलाउनुपर्ने कोम्यानले बताएका छन् । ‘उनी वास्तविक विङ्गर होइनन्,’ उनले भने, ‘उनी जहाँ खेल्न सहज छन् त्यहाँ प्रयोग गर्नुपर्दछ । त्यहाँ उनको स्तर देखिनेछ ।’