प्रधानमन्त्री ओली–प्रचण्डबीच छलफल निष्कर्ष बिहिन – Janadesh Daily | ePaper

प्रधानमन्त्री ओली–प्रचण्डबीच छलफल निष्कर्ष बिहिन


काठमाण्डौँ : नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा तीन घन्टा छलफल भएको छ । उक्त छलफ निष्कर्ष बिहिन भएर टुड्गीएकोछ । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत सहभागी थिए ।

दुई अध्यक्षबीचको संवाद भोलि स्थायी कमिटीको बैठकअगाडि पनि हुने छलफलमा सहभागी एक नेताले बताए । दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको छलफलमा ठोस सहमति भए–नभएको विवरण  भने आएको छैन ।

दुई अध्यक्षबीचको छलफलमा पूर्वएमाले समूहबाट महासचिव विष्णु पौडेल र मुख्यमन्त्री शंकर पोखरेल तथा पूर्वमाओवादी समूहबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा र ऊर्जामन्त्री वर्षमान पुन सहभागी थिए । छलफलमा दुवै पक्षबीच अविश्वास बढ्नुका कारण र पछिल्ला आरोप–प्रत्यारोपमा केन्द्रित रहेर खुला छलफल भएको सहभागी एक नेताले बताए ।

एकताको मर्मविपरीत पार्टीको स्थापित मूल्य–मान्यता र विधिलाई चुनौती दिएर खुमलटारमा निरन्तर सचिवालय नेताहरूको छलफल राखेर आफूविरुद्ध षड्यन्त्र गरिएको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोखेका थिए । प्रचण्डले पार्टी फुटाउने गरी अध्यादेशको तयारी भएपछि छलफल गर्नुपर्ने बाध्यात्मक अवस्था आएको प्रस्टीकरण दिएको नेताहरूको भनाइ छ । ओली र प्रचण्डबीच अध्यादेश र महाअभियोगको विषयमा केन्द्रित रहेर केहीबेर सवाल–जवाफ पनि भएको थियो ।

‘तपाईंहरू नियमित अलग्गै खुमलटारतिर बसेर के–के गर्न खोज्दै हुनुहुन्छ, के त्यसरी छलफलमा बसेर पार्टी एकता जोगिन्छ ? कि पार्टी फुटाउन खोज्दै हुनुहुन्छ ?’ प्रधानमन्त्री ओलीले भनेका थिए ।

विनातथ्य–प्रमाण उल्टै आफूहरूलाई राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउने तयारी गरेको भन्दै पार्टीपंक्तिलाई उत्तेजित बनाउन खोजेको भन्दै प्रचण्डले ओलीको विरोध गरेका थिए । ‘तपाईंले समझदारी नै नगरी एक्कासि संसद् अधिवेशन अन्त्य गरेर पार्टी फुटाउनका लागि अध्यादेश ल्याउने तयारी अघि बढाएपछि हामीले छलफल गर्नुपरेन ?’ सहभागी ती नेताले भने, ‘तपाईं (प्रधानमन्त्री) जस्तो जिम्मेवार व्यक्ति भएर हामीमाथि राष्ट्रपतिमाथि महाअभियोग तयारी गरेको भन्दै झुटो प्रचार गर्ने ?

यद्यपि सहमति जुटाउन नेकपाका अनौपचारिक तहमा संवाद भएका छन् । स्थायी कमिटी बैठक शनिबारसम्म स्थगित छ । पौडेल र शर्मा दुवैजना जेठ २ गते पार्टी एकताको अघिल्लो दिनको ओली-प्रचण्डबीचको सहमतिका साक्षी पनि हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्