बहुराष्ट्रिय कम्पनीहरु फेसबुकसँग सम्बन्ध तोड्दै – Janadesh Daily | ePaper

बहुराष्ट्रिय कम्पनीहरु फेसबुकसँग सम्बन्ध तोड्दै


काठमाडौँ — यति बेला संसारभरका ठूला ब्रान्ड र कम्पनीले फेसबुकलाई विज्ञापन नदिने घोषणा गरेका छन् । कसैले एक महिना त कसैले अनिश्चितकालका लागि विज्ञापन नदिने भनिरहेका छन् । स्टप हेट फर प्रफिट (नाफाका लागि घृणा नफैलाऊ) नामक अभियानप्रति ऐक्याबद्धता जनाउँदै संसारभरका तीन सयभन्दा बढी ब्रान्ड र कम्पनीले फेसबुकलाई विज्ञापन नदिने घोषणा गरिसकेका छन् ।

विभिन्न नागरिक अधिकारसम्बन्धी संघसंस्थाहरूले संयुक्त रूपमा स्टप हेट फर प्रफिट नामक अभियानको सुरुवात गरेका छन् । जति माग गर्दा पनि आफ्नो प्लेटफर्ममार्फत फैलिने घृणात्मक अभिव्यक्ति रोक्न ठोस काम नगरेको भन्दै फेसबुकलाई दबाब दिन यो अभियान सुरु भएको हो । फेसबुकसँग सम्बन्ध तोड्ने सूचीमा स्टारबक्स, कोकाकोला, युनिलिभर, भाइबरजस्ता संसार प्रसिद्ध ब्रान्ड पनि छन् । यी कम्पनीले विज्ञापन नदिँदा फेसबुकको आम्दानीमा गम्भीर धक्का पुग्न सक्छ । स्टारबक्सले मात्र सन् २०१९ भरमा फेसबुकमा करिब १० करोड अमेरिकी डलर बराबरको विज्ञापन दिएको थियो ।

फेसबुकले सन् २०२० को पहिलो तीन महिनामा मात्रै घृणा फैलाउने खालका १ करोड पोस्ट हटाएको दाबी गरेको छ । तर अभियानले भने गलत जानकारी र घृणात्मक अभिव्यक्ति फैलिन नदिन फेसबुक उत्तरदायी बन्नुपर्ने बताएको छ । यसका लागि फेसबुकले यो विषयमा दक्ष व्यक्तिलाई कार्यकारी पदमा नियुक्त गर्नुपर्ने, तेस्रो पक्षबाट यसका पोस्ट सम्परीक्षण गराउनुपर्ने, घृणा फैलाउने सार्वजनिक र निजी ग्रुप निष्क्रिय पार्नुपर्नेलगायत १० बुँदे माग राखेको छ ।

फेसबुकमार्फत फैलिएको घृणात्मक अभिव्यक्तिका कारण सन् २०१७ मा म्यानमारमा मुस्लिम धर्म मान्ने रोहिङ्ग्या अल्पसंख्यकमाथि नरसंहार भएको र सन् २०१९ मा एक बन्दुकधारीले फेसबुकमा लाइभ स्ट्रिम गर्दै न्युजिल्यान्डको एक चर्चमा अन्धाधुन्दा गोली चलाएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्