इरानको परमाणु केन्द्रमा आगो लाग्दा ‘ठूलो क्षति’ पुगेको स्वीकार – Janadesh Daily | ePaper

इरानको परमाणु केन्द्रमा आगो लाग्दा ‘ठूलो क्षति’ पुगेको स्वीकार


इरानको एउटा प्रमुख परमाणु केन्द्रमा बिहीवार आगो लाग्दा “ठूलो क्षति” पुगेको देशको आणविक ऊर्जा हेर्ने निकायका प्रवक्ताले बताएका छन्।

उनले नाटान्जस्थित युरेनीअम प्रवर्धन गर्ने भवनमा आगो लाग्नुको कारण थाहा भएको बताए पनि त्यसबारे विस्तृत विवरण दिएनन्।

उनका अनुसार क्षतिग्रस्त उपकरणहरूको स्थानमा अब अझ उन्नत उपकरण र प्रणाली जडान गरिनेछ।

के भएको थियो?

एउटा निर्माणाधीन भवनमा भएको युरेनीअम प्रवर्धन गर्ने सेन्ट्रिफ्यूज प्रणालीमा आगो लागेको थियो।

प्रवर्धित युरेनीअम पारमाणविक ऊर्जा तथा अस्त्र बनाउन प्रयोग हुन्छ।

केही इरानी अधिकारीहरूले साइबर आक्रमण भएको दाबी गरेका छन्।

इरानको एटमिक एनर्जी अर्गनाईजेशनका प्रवक्ता बेहरूज कमाल्भन्दीले “सुरक्षाका कारण” आगलागीको कारणबारे कुरा नगरिएको बताएका छन्।

उनका अनुसार उक्त घटनामा उल्लेख्य क्षति पुगे पनि कोही पनि हताहत भएनन्।

गत सातामा इरानमा अन्य आगलागी र विस्फोटनका घटनाहरू पनि भएका थिए।

कमाल्भन्दीले भने, “उक्त घटनाले उन्नत सेन्ट्रिफ्यूजको विकास र उत्पादनको गति ढिलो हुनसक्छ… इरानले क्षतिग्रस्त भवनको ठाउँमा अझ उन्नत उपकरण भएको अर्को ठूलो भवन बनाउने छ।”

तस्वीर कपीराइट AFP
Image caption नाटान्जमा भएको सेन्ट्रिफ्यूजको पुरानो तस्बिर

नाटान्ज किन महत्त्वपूर्ण?

राजधानी तेहरानबाट २५० किलोमिटर दक्षिणस्थित नाटान्जमा इरानको सबैभन्दा ठूलो युरेनीअम प्रवर्धन केन्द्र छ।

सन् २०१५ मा भएको परमाणु सहमतिअनुसार इरानले यू-२३५ को तीनदेखि चार प्रतिशत मात्रा भएको न्यूनप्रवर्धित युरेनीअम मात्र उत्पादन गर्न र केवल आणविक भट्टीका लागि आवश्यक इन्धनका रूपमा प्रयोग गर्न पायो।

अस्त्र बनाउन आवश्यक युरेनीअममा यू-२३५ को मात्रा ९० प्रतिशत वा बढी हुनुपर्छ।

त्यति बेला इरानले नाटान्जमा सन् २०२६ सम्म नयाँ र पुराना गरेर सेन्ट्रिफ्यूजको कुल सङ्ख्या ५,०६० नबढाउन तथा सन् २०३० सम्म फोर्दोस्थित भूमिगत केन्द्रमा युरेनीअम प्रवर्धन नगर्न सहमति व्यक्त गरेको थियो।

तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त सहमति परित्याग गर्ने र इरानविरुद्ध पुनः आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेपछि गत वर्ष इरानले आफ्नो प्रतिबद्धता भङ्ग गरेको थियो।

गत नोभेम्बर महिनामा इरानले नाटान्जमा उन्नत सेन्ट्रिफ्यूजको सङ्ख्या दोबर बनाइएको र फोर्दोस्थित उपकरणहरू पनि चलाउन थालिएको बताएको थियो। बीबीसी

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्