बागलुङ ढोरपाटन पहिरो वितण्डा: कारण के हो ? – Janadesh Daily | ePaper

बागलुङ ढोरपाटन पहिरो वितण्डा: कारण के हो ?


तारानाथ आचार्य, बलेवा ।

गत बुधबार रातिको पहिरोले बागलुङको ढोरपाटनमा वितण्डा मच्चायो । वितण्डामा बेपत्तामध्ये १५ दिनको शिशुसमेत छन् । पहिरोमा ३१ परिवारको बिचल्ली भएको छ । कसैका परिवारका सदस्य बेपत्ता छन् भने कसैका घरगोठको नाम निसाना मेटाएको छ ।

पहिरोमा ढोरपाटन नगरपालिका–९ सुप्राङ बस्ने बिरे विकको परिवार नै बेपत्ता भएको छ । बुधबार साँझ खाना खाएर आफ्नै घरमा सुतेका उनीहरुको घरसहित चार जनाको परिवार कहाँ छ भन्ने बिहीबार साँझसम्म पत्तो नभएको हो । विककी श्रीमती र नाम नखुलेका दुई छोराछोरीसहित चार जना पहिरोले बेपत्ता भएको स्थानीयवासीले बताए ।

पहिरोमा बेपत्ता भएका अधिकांश एकै घरका सदस्य छन् । सोही ठाउँका १० महिनाका नाम नखुलेका एक बालकसमेत बेपत्ता सूचीमा परेका हुन् । बाढीपहिरोमा परी बेपत्ता भएकामध्ये १४ जनाको शव फेला परेको छ । मृत्यु हुनेमा चार जनाको मात्र सनाखत भएको छ ।

घटनामा क्षतविक्षत अवस्थामा शवहरु भेटिएकाले सनाखत रोकिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो । “कसैको खुट्टा मात्रै फेला परेको छ, कसैको टाउको मात्रै”, उहाँले भन्नुभयो, “विभत्स शवहरु पहिचानमा कठिन भइरहेको छ ।” पहिरोमा हराएका दुई वर्षका बालकको टाउको च्यापिएको अवस्थामा शव फेला परेको थियो ।

परिचय नखुलेका एक पुरुषको झोलुङ्गे पुलमा अड्किएको अवस्थामा शरीरको आधा भाग फेला परेको थियो । भेटिएका शव बेपत्ता सूचीका हुन् वा अन्य हुन् भन्नेसमेत यकिन भइनसकेको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए।

कसरी खस्यो पहिरो ?

ढोरपाटन जाने सडक वर्षौँअघि खनिएको हो । अहिले यो सडक सालझण्डी ढोरपाटन राष्ट्रिय राजमार्गमा सूचीकृत छ । बर्सातमा हिलाम्मे हुने भएकोले यो सडक सञ्चालनमा छैन । बरु गत असारमा मर्मतको नाउँमा देउरालीमा सडक भत्काइएको स्थानीयवासीले बताए । भत्काएको माटो र सडकमा जमेको पानीले पहिरो चलाएको स्थानीय शिक्षक यामबहादुर कायतले बताउनुभयो ।

सडकको माटोसहित पहिरो खसेर भुजीखोला थुनिएको बताइएको छ । थुनिएपछि बनेको ताल फुटेर पहिरो खस्दा ठूलो क्षति हुनेगरी पहिरो र बाढी चलेको प्रारम्भिक अनुमान गरिएको छ । घटनामा के कति मूल्यको क्षति भयो भन्ने खोजी भइसकेको छैन । बेपत्ताको खोजी सकिएपछि मात्र अन्य खोजी हुने बताइएको छ ।

यहाँका अन्य भौतिक पूर्वाधारमा पनि क्षति पुगेको छ । तीन वटा जलविद्युत् आयोजनामा पनि क्षति पुगेकोले विद्युत सेवा पूर्ण ठप्प छ । टेलिफोनको सेवा अवरुद्ध छ । ती आयोजना मर्मत गरेर सञ्चालनका लागि महिनौँ समय लाग्ने बताइएको छ ।

खोलाले आफ्नो बहावसमेत फेरेको, खेतीपाती बगाएको र कतिपय पुलमा पनि क्षति पुगेकाले वातावरण सहज बन्नसमेत केही समय लाग्ने कायतको कथन छ । स्थानीयवासीले बिहीबारदेखि नै खानेबस्ने ठाउँ पाएका छैनन् । घरबार गुमाएकालाई तत्कालका लागि स्थानीयवासीले व्यवस्थापन गरेका छन् । नगरपालिका र दाताहरुले तत्कालका लागि खानपानको व्यवस्थापनमा सहयोग गरेका छन् ।

सडक पहिरोको कारक

पछिल्लो समय अधिकांश स्थानमा ग्रामीण सडक पहिरोको कारक बनेका छन् । अन्य घटना पुष्टि नभएसम्मका लागि यो घटना पनि ढोरपाटन सालझण्डी सडकमा बर्सातको समयमा लगाइएको डोजरबाट सिर्जित समस्यासमेत भएको स्थानीयवासीको बुझाइ छ ।

सडक खन्दा नाली नतर्काउने कामले बढी जोखिम सिर्जना गरेको छ । यो सडक राष्ट्रिय आयोजनामा परे पनि डोजर लगाउने मात्रै काम भइरहेको छ । संरचनाहरु समयमा नबन्दा पहिरोको जोखिम बढी भएको उपभोक्ताले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्