न्यायालयबाटै नेपाली भाषाको उपेक्षा – Janadesh Daily | ePaper

न्यायालयबाटै नेपाली भाषाको उपेक्षा


भाषा विचार विनिमयको माध्यम हो । हामीले बोल्ने र लेख्ने भाषाले हाम्रो प्रतिनिधित्व गरेको हुन्छ । भाषा सद्भावको संवाहक हो । जुनसुकै जातिका मानिसले आफूले बोल्ने भाषामा अपनत्वको महसुस गर्दछन् । समृद्ध राष्ट्रले भाषाको प्रयोग बिस्तारका माध्यमबाट परोक्ष रूपमा शासन गरिरहेका छन् । अर्थात् शक्तिशाली राष्ट्र बन्ने एउटा आधार भाषा नै हो ।

नेपालको संविधान २०७२ मा देवनागरिक लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भनी प्रस्ट रूपमा लेखिएको छ । तर सर्वाेच्च अदालतले गरेका निर्णयले भने शङ्का पैदा गरेको छ । सर्वाेच्च अदालतले सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर अङ्ग्रेजीमा लेख्नु भनी गरेको निर्णयले नेपाली भाषामाथिको उपेक्षालाई इङ्गित गर्दछ ।

संविधानमा सरकारी कामकाजको रूपमा नेपाली भाषा हुने उल्लेख गरिएको छ तर अर्काेतिर इम्बोस्ट नम्बर अङ्ग्रेजी भाषामा लेख्न लगाउनु संविधानविपरित छ । खै नेपाली भाषाको प्रयोग ? के यस्ता निर्णयले नेपाल र नेपालीलाई पहिचान दिन सक्छ ! अङ्ग्रेजी भाषा जान्नु राम्रो कुरो हो, तर त्यसैको आडमा नेपाली भाषाको प्रयोग गर्नु कदापि राम्रो होइन । इतिहासमा नेपाल कसैको उपनिवेश भएको छैन तर सर्वाेच्च अदालतले गरेको यस निर्णयले भने हामी भाषाका माध्यमबाट अधिनस्थ हुँदै छौँ भन्ने कुराको सङ्केत गर्दछ ।

भाषा राष्ट्र समृद्धिको आधार हो । हाल नेपालमा सावरीसाधनको नम्बर प्लेटमा नेपाली र अङ्ग्रेजी दुबै भाषाको प्रयोग हँदै आकएको छ । तर अब भने अङ्ग्रेजीमा मात्र लेखिने भएको छ । यसप्रकारको निर्णयले नेपाल र नेपाली जातिको खिल्ली उडाएको छ । मेरा सत्तरी वर्षका अङ्ग्रेजी भाषा नजानेका बा ले कसरी चिन्लान सवारीसाधानको नम्बर प्लेट ? यसरी लेखिने नम्बर प्लेट आमसर्वसाधारणले सजिलै बुझ्न सक्नुपर्छ ।

देश बन्दाबन्दीको अवस्थामा रहेको मौका छोपेर, यस अघि विभिन्न निकायले विरोध गर्दागर्दै पनि त्यही कुरालाई हाल आएर रातारात त्यही निर्णय गर्नुले त्यसभित्र केही ठुलै चलखेल भएको बुझ्न सकिन्छ । विज्ञान प्रविधि मानिसको जीवन शैलीलाई सहज बनाउनको लागि विकास गरिएका हुन् । प्रविधिसँग हामी चल्न सक्नुपर्छ । प्रविधिले मानिसलाई होइन, प्रविधिलाई मानिसले बनाएको हो । प्रविधिको नाममा आफनो  पहिचान नै नामेट गर्न कार्य वाञ्छनीय हुँदैन । गर्मी भयो भन्दैमा नाङ्गो बस्दा एकछिन शितलता प्राप्त हुन्छ तर त्यसको दीर्घकालीन असर कति पर्छ भन्ने हेक्का राख्नुपर्छ ।

सर्वोच्चको यसप्रकारको निर्णयले उसको अर्जुनदृष्टि गुमेको सङ्केत गर्दछ । सवारीसाधानको नम्बार प्लेट अङग्रेजीमा मात्र लेख्दा आमसर्वसाधरणले सजिलै बुभ्mन सक्छन् ? सवारी दुर्घटना झनै बढ्न सक्नेतिर खै ध्यान पुग्न सकेको ? हाम्रो भान्सादेखि सुरू भएको अङ्ग्रेजीको विस्तारवादले सर्वाेच्चसम्म पुग्नुले शुभ सङ्केत गर्दैन । यस अघि दुवै भाषामा राखिदा सबैलाई सजिलो भएको थियो तर अब अङ्ग्रेजीमा मात्र राख्दा अङ्ग्रेजी भाषा बोल्ने र लेख्नेलाई सजिलो होला तर नेपाली मात्र जानेकाको हालत कस्तो होला भन्ने विषय सोचनीय छ । हामीले बनाउने नीति, नियम, कानुन हाम्रो अनुकुलाताको लागि बनाउने हो, विदेशी मुलुकका नागरिकलाई हेरेर होइन ।

पश्चिममा गाम्सीले राखेको हेजोमनीको सिद्धान्त यहाँ सिद्ध भएको देखिन्छ । जसरी समाजमा उच्च वर्गले निम्न वर्गमाथि अन्याय, अत्याचार, दमन, शोषण गर्दछन् । बिना बल समाजका विभिन्न वर्गलाई वर्चस्वले बाँधेको हुन्छ । अन्त्यमा एउटा यस्तो अवस्थाको निर्माण हुन्छ, जहाँ शोषित वर्ग हामी स्वतन्त्र छौँ, शासित छैनौँ, शोषक वर्गले हामीमाथि ठिकै गरिरहेका छन् भन्ने भ्रममा रहन्छन् । त्यसरी नै अङ्ग्रेजी भाषा सबै ठिकै हो । यसले हामीलाई सहज गराएको छ । यसैले गर्दा हामी विश्व बजारमा बिकेका छौँ भन्ने भ्रम सिर्जना भइरहेको छ । अन्त्यमा जे भइरहको छ, सब ठिक छ भन्ने कन्भिन्समा पुगे झैँ हाल हाम्रो अवस्था त्यही पुगेको छ ।

विश्वका धेरै देशहरूमा सवारीसाधनमा लेखिने अक्षरहरू आफ्नै भाषामा हुन्छन्, जसले उनीहरूको भाषाको विकाससमेत भएको छ । सवारीसाधन जुनसुकै ठाउँमा आवातजावत गर्न दुबै भाषाको प्रयोग हुँदा धेरै सहज हुन्छ । गाडीमा लेखिने नम्बर मात्र नै हाम्रो परिचय पत्र (नागरिकता र राहदानी) मा नेपाली र अङ्ग्रेजी दुबै भाषाको प्रयोग गरिएको छ । त्यति मात्र होइन, यस अघि स्मार्ट लाइसेन्समा अङ्ग्रेजी भाषको मात्र प्रयोग भएको दृष्टान्त मात्र छ । अब गाडीको नम्बर अङ्ग्रेजीमा लेखिनु नेपाली भाषामाथिको अर्काे आक्रमण् पनि हो । स्व. माधव घिमिरे लेखेको :

पारिन्छ सत्ता जब खण्ड खण्ड
रहन्छ राष्ट्र के त्यहाँ अखण्ड
थुतिन्छ पत्ता जब पत्र पत्र
सकिन्छ शोभा अनि फूलबाट ।

घिमिरेको यो कविताले भनेझैँ विस्तारै विस्तारै हाम्रो नेपाली भाषाप्रति आक्रमण भइरहेको छ । यसरी नै आक्रमण हुने हो भने जसरी फूल बिनाको विरूवाको कुनै शोभा हुँदैन, त्यसरी नै नेपाली भाषा नै नरहे हाम्रो शोभासमेत रहँदैन । सर्वाेच्च अदालतको यो निर्णयले नेपाली भाषा जान्नेको मात्र नभएर नेपाली जाति के अस्मितामाथिको प्रश्न हो । यसरी नै विभिन्न माध्यमबाट नेपाली भाषाामाथि आक्रमण भइरहने हो भने कालान्तरमा नेपाली भाषा एकादेशको कहानी बन्दैन भन्न सकिन्न ।

(लेखकः त्रिभुवन विश्वविद्यालयका नेपाली केन्दीय विभागका एम.फिलका विद्यार्थी हुन् ।)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्