सिन्धुपाल्चोकमा प्रकोपले समस्या : प्रजिअ ढकाल – Janadesh Daily | ePaper

सिन्धुपाल्चोकमा प्रकोपले समस्या : प्रजिअ ढकाल


सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिन्धुपाल्चोकमा निरन्तर प्रकोपले समस्या परेको बताउनुभएको छ ।

अहिलेसम्म बाढी र पहिरोबाट ५६ जनाको मृत्यु भएको छ भने २३ जना अझै पनि बेपत्ता छन् । “धेरै मानिस विस्थापित छन्”, उहाँले भन्नुभयो, “जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल राहत तथा उद्धारको काम गरिरहेको अवस्था छ ।

सुरक्षाकर्मी परिचालन भएका छन् । स्थानीय पालिकालगायत विभिन्न निकायसँग समन्वय गर्दै प्रभावकारी ढङ्गले कामहरु अगाडि बढाइरहेको अवस्था छ ।” केन्द्रीयस्तरमा पनि सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बैठकहरु बसेर धरै निर्णय भएको र कामहरु अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

कोरोना भाइरसको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा सङ्क्रमण नफैलियोस् भन्नका लागि यही भदौ १ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रजिअ ढकालले बताउनुभयो ।

राजधानीसँग नजिक रहेको जिल्ला र बढी आवतजावत राजधानीमा हुने भएकाले पनि सिन्धुपाल्चोक पनि कोरोनाको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । सिन्धुपाल्चोकमा हालसम्म चार जनाको मृत्यु भएको छ भने १०९ सङ्क्रमित भएकामा ७७ जना निको भएर घर फर्किसकेको उहाँले जनाकारी दिनुभयो ।

“अहिले हामीले जिषेधाज्ञा जारी गरेका छौँ, त्यसैले सङ्क्रमण नफैलिएको स्थिति छ । निषेधाज्ञा जारी नगरेको भए स्थिति भयावह भइसक्ने थियो”, उहाँले भन्नुभयो, “बजारलाई व्यवस्थित गर्ने, अति आवश्यक पसललाई निश्चित समयमा खोल्ने, केही निमार्णका कामलाई अगाडि बढाउने र अनावश्यक कामलाई बन्द गर्ने हिसाबले काम अगाडि बढाउने निर्णय गरेका छौँ ।” रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्