दुई देशका रक्षामन्त्रीको मस्को वार्तापछि भारतलाई चीनको स्पष्ट र कडा सन्देश – Janadesh Daily | ePaper

दुई देशका रक्षामन्त्रीको मस्को वार्तापछि भारतलाई चीनको स्पष्ट र कडा सन्देश


एजेन्सी ।
लद्दाख क्षेत्रको विवादित सीमालाई लिएर लामो समयदेखि तनावमा रहेका चीन र भारतबीच राजनीतिक तहमा वार्ताका उपक्रम भए लगत्तै चीनले आफ्नो बुझाईलाई ग्लोबल टाइम्सको सम्पादकीयमार्फत प्रवाह गरेको छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री वेइ फेङ्घबीच सांघाइ सहयोग संगठन (एससीओ) को साइडलाइनमा भएको ‘भेटवार्ता टर्निङ पोइन्ट बन्न सक्ला?’ शीर्षकमा ग्लोबल टाइम्सले चीनको सन्देश प्रवाह गरेको हो ।

दुई देशका रक्षामन्त्रीले आमने सामने भएर कुरा गर्नु आफैमा सकारात्मक भएको भन्दै ग्लोबल टाइम्सले यसले विवादित क्षेत्रमा सीमा व्यवस्थापनका लागि मार्गप्रशस्त गरेको उल्लेख गरेको छ ।

त्यसैगरी चीनका स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी एस जयशंकरबीच भेट हुने तयारी भैरहेको ग्लोबल टाइम्सले जनाएको छ । एकै भेटमा दुई देशको गम्भीर सीमा विवाद नसुल्झिने भन्दै ग्लोबल टाइम्सले तनाव मत्थर गर्नका लागि भने भेटहरु महत्वपूर्ण सावित हुन सक्ने अपेक्षा गरेको छ ।

लद्दाख लगायतका क्षेत्रमा दुई देशबीच सीमा निर्धारण हुन बाँकी नै रहेको तर यसलाई आफ्नै तरिकाले व्याख्या गर्ने छुट पनि नभएको चीनको भनाई छ । सन् १९५९ नोभेम्बर ७ को लाइन अफ एक्चुअल कन्ट्रोल आधार विन्दु हुनसक्ने ग्लोबल टाइम्सले सुझाएको छ ।

दुवै पक्षले आफ्नै सीमा विन्दु विकास गर्दै जाने हो भने टकराव बढ्ने र यसले दुवैपक्षको हित नगर्ने पनि चीनले चेतावनी दिएको छ ।
दुवै पक्षको शक्ति र भूराजनीतिक अवस्थितिले लद्दाखको यथास्थितिमा परिवर्तन हुन नसक्ने भएकाले दुवै पक्षले शान्तिपूर्ण तरिका अपनाउनु उचित हुने पनि चीनको सन्देश छ ।

भारतको पछिल्लो रबैयाले क्षेत्रीय शान्तिका लागि चिन्ता बढाएको र अमेरिकी आड लिएर चीनलाई दबाब पैदा गर्ने रणनीति गलत भएको समेत ग्लोबल टाइम्सको दाबी छ । अरुको आड लिएर निहुँ खोज्नु अघि भारतले चीनको राष्ट्रिय र सैन्य शक्तिबारे पनि विचार गर्न उचित हुने सुझाव पनि ग्लोबल टाइम्सले दिएको छ ।

भारतमा केही अति राष्ट्रवादीको उक्साहट चलिरहेको तर राष्ट्रवाद भन्दा व्यवहारवाद उचित भएको समेत ग्लोबल टाइम्सको जिकिर छ ।
ग्लोबल टाइम्सलाई अन्तर्राष्ट्रिय मामिलामा चीनको मुख्य सन्देशवाहक मान्ने गरिएको छ ।

यो पनि पढ्नुस्- चीनसँग संसारकै ठूलो नौसेना, छिमेकमा प्रभाव बढ्दोः अमेरिकी रिपोर्ट

भारतलाई चीनको चेतावनीः निहुँ खोज्दा महंगो मूल्य चुकाउनु पर्ला

भारत र चीनका सेनाबीच लद्दाखमा तनाब हुँदैआएको छ । गत जुन १५ मा हिंसात्मक भीडन्त हुँदा २० भारतीय सैनिक मारिएका थिए । अगष्टको अन्त्यमा पनि दुई देशका सेनाबीच तनावपूर्ण आदानप्रदान भएको बताइएको छ ।

सीमामा भएको तनावकाबीच भारतले चीनका विभिन्न एपमाथि प्रतिबन्ध लगाउँदै आएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्