मलको ठेक्का लिएर नल्याउने दुई ठेकेदारमाथि कारवाहीको तयारी – Janadesh Daily | ePaper

मलको ठेक्का लिएर नल्याउने दुई ठेकेदारमाथि कारवाहीको तयारी


जनादेश, काठमाडौं ।
मल ल्याउने ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदारलाई कृषि मन्त्रालयले कारवाही गर्ने भएको छ ।

गत पुसमै ठेक्का लिएपनि किसानको धान पसाउने बेलासम्म मल नपुर्‍याउने दुईवटा ठेकदार कम्पनीको ५/५ करोड रुपैयाँ धरौटी जफत गर्ने र कालोसूचीमा राख्न सिफारिश गर्ने निर्णय मन्त्रालयले गर्न लागेको हो । मन्त्रालयले कारवाही गर्ने जिम्मा कृषि सामग्री कम्पनी लिमिटेडलाई दिएको छ । यसबारे निर्णय लिन बैठक जारी छ ।

मल आपूर्तिका लागि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई मल आपूर्तिको ठेक्का दिइएको थियो । समयसीमा सकिँदा पनि आपूर्ति गर्न नसकेका दुवै कम्पनीलाई कारबाही गर्न लागिएको हो ।

मलको ठेक्का हात पार्ने शैलुङ कस्ट्रक्सनका शारदाप्रसाद अधिकारीलाई नेकपाको प्रभाव दुरुपयोग गरी विभिन्न ठेक्का अलपत्र पारेको आरोप उनीमाथि लाग्दै आएको छ । होविको मल्टिपल कम्पनीका होमनाथ कोइराला नेपाली कांग्रेस निकट ठेकदार मानिन्छन् ।

यस अघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मल आपूर्तिमा ढिलाइ गर्ने र रेल्वे ठेक्का परियोजनाका ठेकेदारमाथि कारवाहीको चेतावनी दिएको थियो ।

दुई प्रकरणका दोषीलाई सरकारलेकारबाही नगरे आफैं कारबाही गर्ने भन्दै विप्लव समूहले विज्ञप्तिमार्फत चेतावनी दिएको थियो । किसानलाई मल उपलब्ध नगराएर राष्ट्रघात गरेको, काँकडभिट्टा-इनरुवा रेल्वे ठेक्कामा अर्बौं चलखेल रहेको भन्दै विप्लव समूहले विज्ञप्तिमा पार्टीले कारवाही गर्ने चेतावनी दिएको हो।

काँकडभिट्टा–इनरुवा खण्डमा रेल विभागले ३३ अर्ब माथिको ठेक्का मुआब्जा वितरण नगरी, प्राविधिक एवम् आर्थिक मूल्याङ्कनबिनै, आफ्नै राज्यको कानुनविपरीत लगाइएको आरोप विप्लव समूहले लगाएको छ।

यो पनि पढ्नुस् 

विप्लव समूहले दियो विभिन्न व्यक्तिलाई कारवाहीको चेतावनी (विज्ञप्तिसहित)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्