विषय प्रवेश :
सूचनाप्रविधिको प्रयोगबिना कुनै पनि व्यावसाय संचालन गर्नु प्रायः असम्भवजस्तै भएको छ । सूचनाप्रविधिको प्रयोगले सेवा गुणस्तरीय र पारदर्शी हुने भएकाले व्यवसाया संचालनमा यसको प्रयोग जरुरी हुन्छ ।
समयको बचत, हिसाब किताव सुरक्षित, व्यवीस्थत र लामो समयसम्म राख्नका लागि सूचनाप्रविधिको प्रयोग गर्नु जरुरी छ । जति प्रविधिले व्यावसायलाई सहज र सरल बनाएको छ त्यति नै बढी जोखिम बढाएको पनि छ । आज साइबर सुरक्षा व्यावसायमा डरलाग्दो चुनौती बन्दै गएकोे छ ।
व्यावसायमा प्रविधिको महत्व :
सामानको अडर र भुक्तानीमा समेत प्रविधिको प्रयोग दिनहुँ दिन बढ्दै गइरहेकाले सजिलो भएको सरोकारावाला बताउँछन् । एटीएमबाट पैसा निकाल्दा बैंकजस्तो पालो कुर्नु नपर्ने र चाहेको बखतमा देश विदेशमा पनि निकाल्न सकिने हुँदा बैकिङ क्षेत्रमा सूचनाप्रविधिको ज्यादा प्रयोग भएको एक अध्ययनले देखाएको छ ।
ईकमर्सले आफ्नो बजार विस्तागर्दै लगेकाले पनि सेवाग्राही प्रविधिको प्रयोग गर्न बाध्य हुनु पर्नेछ । सबैखाले भुक्तानी मोबाइलबाटै गर्ने व्यवस्था हुँदा सेवाग्राहीले विभिन्न भन्झट व्यहोर्न पर्नेछैन । समय र यातायात खर्च समेतको बचत हुनेछ । पैसा घरमा राख्दाचोरी हुने समेत डर हुँदैन ।
कोरोनाजस्तो महामारीको समयमा भुक्तानी प्रणालीमा राम्रो ट्रेण्ड विकास भएकाले ई–कमर्श र रिटेल पेमेन्टलाई अझैं वृद्धि गरी ई–कमर्श प्लेटफर्मलाई डिजिटल भुक्तानीमा रुपान्तरण गर्नु आवश्यक छ ।
पछिल्ला ५ वर्षमा नेपालमा भुक्तानी प्रणालीमा बैंक तथा वित्तीय संस्था र केन्द्रिय बैंकले पनि निकै काम गरेको देखिन्छ । डिजिटल भुक्तानीमा हरेक बैंकले आआफ्नो मोबाइल बैंकिङ सुविधा ल्याइसकेका छन् । मोबाइल बैंकिङले खुद्रे भुक्तानीदेखि निश्चित आकारसम्मको रकम लेनदेन गर्न सकिने भएको छ ।
नेपाल जस्तो देशमा प्रविधिको प्रयोग निकै महँगो पर्ने हुनाले त्यसको लागत घटाउन बजारको बिस्तार गर्नु पर्ने हुन्छ । यसका लागि साना तथा मझौला उद्यमी र घरेलु व्यवसायमा हुने खुद्रे भुक्तानीलाई डिजिटलमा रुपान्तरण गर्न सकिने हुन्छ । डिजिटल भुक्तानीलाई पारदर्शी बनाई आमजनसमुदायमा यसको पहुँच पुर्याउन आवश्यक छ । यसले अर्थतन्त्रको विस्तारमा पनि योगदान दिन सक्छ ।
राज्यको दायित्व :
सबै खालका भुक्तानी प्रणालीलाई एकद्वार प्रणालीमा ल्याउने गरी पूर्वाधार तयार गर्दै जाँदा राम्रो हुन्छ । अहिले कागजरहित बैंकिङको बहस बढेकाले अनलाइन खाता खोल्ने कुराले केही हदसम्म सेवाग्राहीलाई सहयोग पुग्ने गरेको छ । तर सबै सेवाग्राही इन्टरनेको पहुँचमा नहुने हुँदा र्दुगम बस्तीसम्म डाटा उपलब्धतालाई राज्यले ध्यानदिन जरुरी छ । हाम्रो देशमा प्रविधि चलाउन जान्ने र नजान्नेको बीचमा ठूलै खाड्ल छ । यसलाई पनि तालीम प्रशिक्षण र साक्षारता कक्षा सञ्चालन गरी विद्युतीय खाडलपूर्ति गर्दै जानु राज्यको दायित्व हो ।
व्यापार व्यावसायमा मात्र नभएर राज्यका सबै खालका सेवाप्रवाहमा एकद्वार प्रणालीको विकास र बिस्तार गरी कर्मचारीमा भएको अनावश्यक लगानी घटाउन सकिन्छ । भोलिका दिनमा नागरिकता, लालपूर्जाजस्ता, लाइसेन्स, बैंक खाता, जागीरको विवरण, शैक्षिक विवरण, पारिवारिक विवरण, भ्रमण र किनमेलजस्ता कार्यलाई एउटै सफ्वयेरमार्फत् सन्चालन र नियन्त्रण गर्न सकिन्छ । यसतर्फ राज्य र सरकारको दृष्टि पुग्नु आवश्यक छ ।
प्रविधिको क्षेत्रमा अत्यन्त कम दक्ष र धरै अर्धदक्ष जनशक्ति भएको हाम्रो देशमा साइवर सुरक्षा निकै ठुलो चुनौती रहेको छ ।
साइबर जोखिम न्यूनीकरणका लागि सरकारले समयमै साइबर सुरक्षा नीति तयार तयार गरी सोहीअनुसार योजना तर्जुमा गरी कार्यन्वयनमा ल्याउनु आवश्यक छ ।
अन्तमा :
प्रविधिविना मानिसको दैनिक जीवनयापन असम्भव जस्तै हुन थालेको छ । व्यापार व्यावसाय पनि यसबाट टाढा रहने स्थिति छैन् । राज्यका सबै संयन्त्रमा प्रविधिको प्रयोग भइसकेको हुँदा यसको सुरक्षाको विषय निकै चुनौती पूर्ण छ । एक क्लिकमा सम्पूर्ण सिस्टम र संयन्त्र ह्याक हुन सक्छन् । सेवा बन्द हुन सक्छ । यसको सुरक्षाका लागि राज्य र यससँग सम्बन्ध राख्ने सम्पूर्ण निकाय समयमै सजग हुनु जरुरी छ । अन्यथाः निकै ढिलो भइसकेको हुनेछ । हजुरको जय होस् । E-mail: shailendra.giri@rec.edu.np
(लेखकः स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, ललितपुरका कार्यकारी निर्देशक हुनुहुन्छ । उहाँले ई-गर्भनेन्समा विद्यावारिधी गर्नुभएको छ)