सर्वोच्चको नयाँ नजीरः ‘म्याच फिक्सिङ’लाई राज्यविप्लव भन्न मिल्दैन – Janadesh Daily | ePaper

सर्वोच्चको नयाँ नजीरः ‘म्याच फिक्सिङ’लाई राज्यविप्लव भन्न मिल्दैन


जनादेश, काठमाडौं ।

सर्वोच्च अदालतले म्याच फिक्सिङलाई राज्यविप्लव मान्न नसकिने नजीर स्थापना गरेको छ । म्याच फिक्सिङको आरोप लागेका तत्कालीन राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहिद पाँच खेलाडी निर्दोष भएको ठहर गर्दै सर्वोच्च अदालतले नयाँ नजीर स्थापना गरेको हो ।

विशेष अदालतले २०७५ जेठ २४ गते गरेको फैसलालाई सदर गर्दै खेल मिलेमतोमा नखेलेको ठहर सर्वोच्च अदालतले सार्वजनिक गरेको पूर्णपाठमा छ ।

न्यायाधीशद्धय डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार २ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै खेल मिलेमतोमा खेलेको आरोपमा ६ वर्षअघि पक्राउ परेका कप्तान थापासहित पाँच जनालाई सफाई दिएको उल्लेख गरेको छ ।

फैसलामा भनिएको छ, ‘आरोपित कसूरबाट सफाई दिने गरी गरेको विशेष अदालतको फैसला मिलेको छ वा छैन र नेपाल सरकारको पुनरावेदनमा जिकिर पुग्न सक्छ वा सक्दैन भन्ने अन्तिम प्रश्नतर्फ हेर्दा संक्षेपमा प्रस्तुत मुद्दामा ती प्रतिवादीले म्याच फिक्सिङको जुन कार्य गरेको भनिएको छ’, पूर्णपाठमा भनिएको छ, ‘सो राष्ट्रको स्वाभिमान, प्रतिष्ठा र समस्त नेपालीको भावनासँग जोडिएको विषय हुँदा अत्यन्त गम्भीर छ, तर त्यति हुँदाहुदै पनि सो कार्य राज्यविरुद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३ मा वर्णित राष्ट्र विप्लवको कसूर नहुँदा दफा ३ (क) आकर्षित हुने कसूर हो भन्ने देखिदैन ।’

नेपाल प्रहरीले २०७२ असोज २७ मा कप्तान सागर थापासहित विभागीय टोली नेपाल पुलिस क्लबका गोलकिपर रितेश थापा, मनाङ मर्स्याङ्दी क्लबका विकाससिंह क्षेत्री र थ्री स्टार क्लबका पूर्व खेलाडी तथा प्रशिक्षक अञ्जन केसी र खेलाडी सन्दीप राईलाई खेल मिलेमतोको अभियोगमा पक्राउ गरेको थियो ।

खेलाडीहरुमाथि सन् २००८ को मर्डेका कप, सन् २००९ को साफ च्याम्पियनसिप, सन् २०११ मा मलेसियामा भएको मैत्रीपूर्ण खेल, सन् २०११ मा नै फिलिपिन्समा भएको मैत्रीपूर्ण खेल, सन् २०१२ मा भारतमा भएको नेहरु कप र सन् २०१४ मा कोरियामा भएको खेलमा मिलेमतो गरेको आरोप लागेको थियो।

सर्वोच्च अदालतले म्याच फिक्सिङको आरोप लागेका खेलाडीलाई सफाइ दिँदा उनीहरुलाई लगाएको अभियोग नै गलत भएको बताएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्