निजामती सेवा पुरस्कार र मंगलेको पीडा – Janadesh Daily | ePaper

निजामती सेवा पुरस्कार र मंगलेको पीडा


आज मंगले आश्चर्यचकित छ । उसको मानसपटलमा सयौं कुरा खेलिरहेका छन् । उसले आफैलाई प्रश्न तेर्साइरहेको छ । विगत कैयौं वर्षदेखि गुम्सिइरहेको प्रश्नको उत्तर आखिर यही नै हो भनेर । उसले पत्याउन नै सकेको छैन ।

आज उ चतुरमान, चटकलाल, दलसिंह र गणेशलालको आखाँको चमक र शारीरिक धमक देख्दा आश्चर्यमा छ । खोई मंगलेले के सम्झन्छ कुन्नी, बेलाबेलामा पुर्पुरोमा हातले ठटाउँदै कराउन थाल्छ । धिक्कार हो मेरो जिन्दगी ! यस्तो पनि के देख्नु र सुन्नु परेको होला । ऊ आफू एक्लै फतफताउँदै थियो । कसैले उसका कुरा सन्दैन थिए भने सुनेकाले पनि बुझ्दैनथे ।

मंगले बर्वराउँदै थियो । यस्तो देख्नुभन्दा त उहिल्लै मर्न पाएको भए पनि त हुने थियो । ऊ फेरि बर्बराउँथ्यो, किन मर्नु । जन्मनुको अन्तिम सत्य मर्नु नै हो, तर यस संसारमा जन्म लिइसकेपछि फगत मर्नु पनि त हुदैन । केही गरेर मर्न पाए पो जन्मनुको पनि सार्थकता । फेरि बर्बराउँथ्यो– के गर्नु देश नै यस्तै छ । हामी जस्ताको सुनुवाई कहाँ हुन्छ र यहाँ । बरू यस्तो देशमा जन्मनभन्दा अन्यत्रै जन्मन पाएको भए । फेरि ऊ लामो स्वास निकालेर छातीमा हात राख्दै कराउँथ्यो– होइन, यो मेरो देशको दोष होइन ।

मेरो देश त विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित रहेको, हिम श्रृङ्खलाले भरिएको, शान्तिका अग्रदुत गौतम बुद्ध जन्मिएको, जनकको ज्ञानभूमि र सिताको पुन्यभूमि । मेरो देश अमरसिंह, बलभद्र, भक्ति थापा, कालु पाण्डेजस्ता वीरविरंगना जन्मिएको देश, रामशाहले न्यायको चौतारोमा बसी न्यायसम्पादन गरेको देश । आहा मेरो देश ! विश्वको सबैभन्दा सुन्दर र गौरवशाली इतिहास बोकेको देश । ऊ फेरि गर्वले एकाएक फुल्दथ्यो ।

मंगले फत्फताउँदै, बर्वराउँदै थियो । मानौं उसले केही रमिता हेरिरहेको छ । ऊ आफूभित्र नेपाल देशभित्रका मनुवाको अध्ययन गरिरहेको छ । तर यो कसले सम्झने र बुझ्ने । बाटोमा हिँड्ने उसको वेपर्वाह गरिरहेका छन् । उसको पीडा सुन्ने फूर्सत पनि कसको पो छ र यहाँ ।

उता समुन्नेको रेष्टुरेण्टमा चतुरमान, चटकलाल, दलसिंह र गणेशलाल भने वियरको चुस्किमा रमाइरहेका थिए । उनीहरुको निधारमा रातो टीका, गलामा थुँगे फूलको माला र पदकजस्तो देखिने सुनौलो चिज लट्किरहेको थियो । चतुरमानले पटक–पटक फोनमा कसैलाई ढाकिरहेको थियो । मानौं त्यहाँ कुनै ठूलो उत्सव हुदैछ र उनीहरुको प्रमुख अतिथिको प्रतिक्षामा छन् ।

मंगलेले एकटक उनीहरुको रमिता हेरिरहेको छ । उनीहरुले बोलिरहेको संवाद र परिसम्वाद पनि सुनिरहेको छ । किन हो कुन्नि बेलाबेलामा मंगलेले जिब्रो टोक्छ ।

मंगले घोरिन थाल्छ, मानौं उसले केही सम्झन खोज्दै छ । केही वर्ष अगाडिको कुरा हो– मंगले छोरालाई डाक्टर बनाउन प र्‍यो भनेर कुनै कार्यालयमा सम्पर्क गर्न गएको हुन्छ । गरिब मान्छे कतै निःशुल्क पढाउन पो सकिन्छ कि भन्ने ठुलो सपना बोकेर । उसको सपना त्यहाँ धेरै समय टिक्दैन । उसले जसलाई विश्वास गरेर गएको थियो उसले मंगलेलाई तिम्रो छोरालाई पास गराउने भए यति रकम ल्याऊ, हामी प्रश्नपत्र पहिल्लै दिइदिउँला नी भनेर जवाफ दियो । मंगले अवाक परेर हेरिरह्यो । केही बोल्न सकेन । उसले आफूले आफैलाई धिक्कार्दै त्यहाँबाट बाहिरियो । यो त अति असत्ति काम हो, यस्ता असत्तिलाई पक्कै पनि सजाय होला भनेर ।

केही दिन पछिको घटना हो– मंगले रेडियो सुनेर बसेको थियो । उसले सुन्यो । यस वर्षको नेपालको सबैभन्दा राम्रो कर्मचारी भनेर उत्कृष्ट कर्मचारीको पुरस्कार त त्यसैले पो पाएछ । उसले आफैले आफैलाई धिक्का¥यो कि सबैभन्दा राम्रो कर्मचारी त यस्तो छ । अरु कस्ता होलान् तर पनि ऊ निरास भएन । पक्कै केही भूल भएको होला उसले सोच्यो । उसले सोचाई निरासामा परिणत भएन । त्यसको केही दिन पछि रेडियोबाट फेरि अर्को समाचार सुन्यो मंगलेले । प्रश्नपत्र आउट ग र्‍यो भनेर उसलाई अख्तियारले पो समाएछ । ऊ मुस्कुरायो ।

मंगलेले आज ती दिनको स्मरण गरिरहेको छ । चतुरमान, चटकलाल, दलसिंह र गणेशलालले पनि आफ्नो अड्डामा भ्रष्टाचार ग¥यो भनेर पत्रिकामा भगेरे अक्षरले पाना रंगाएका थिए । मंगले पनि कैयौं पटक सेवा लिन भनेर तिनीहरुका कार्यालयका नगएको होइन । उसले सायद त्यतिका दुःख कहिल्लै पाएको थिएन होला । उसले जिन्दगीमा नबिर्सिने क्षणहरुमध्ये यसैलाई सम्झी राख्थ्यो आज पनि । उनीहरुको कर्कस र रुखो बोली सायद यमराजलाई पनि मन पर्दैनथ्यो होला । सेवाग्राहीप्रति त उनीहरुको कुनै चासो र सरोकार थिएन । मंगलेले केही काम लिएर जाँदा पनि हाकिम सापसँग काम छ भनी जवाफ मात्र पाउँथ्यो । मानौं उनीहरु हाकिमका निजी कारिन्दा हुन् । उनीहरुले देश र जनताको रगत र पसिना होइन, हाकिमको निजी तलव पाइरहेका छन् । हाकिमको चाकडी नै उनीहरुको जागीर थियो ।

मंगलेले झल्यास्स आजको दिनलाई सम्झ्यो । ऊ मनमनै तरंगित भयो । उसले सोच्यो । कतै आज पनि निजामती सेवा दिवस त होइन । कतै नेपालका उत्कृट कर्मचारीमा चतुरमान, चटकलाल, दलसिंह र गणेलाल त पुरस्कृत भएनन् । उसलाई शंका लाग्यो । उसको मनमा चिसो पस्यो । ऊ चतुरमान रंगिएको टेवुलको दृश्य एक कुनामा बसेर हेरिरह्यो । हो साँच्चै रहेछ निजहरु यस वर्ष उत्कृष्ट कर्मचारीमा दरिएका रहेछन् । रक्सिको चुस्की लिंदै सेकुवाको स्वादमा ताल मिलाउँदै चतुरमान फलाक्दै थियो । साला त्यो पत्रिकाले लेखेर के फरक प र्‍यो र मलाई । दुईचार दिन त हाकिम ट्याँट्याँ गर्दै थियो । अनी दिनदिनै जाँदै उसको भजन गाउन थाले । खोई कसको नाम लिदै हो कुन्नि थप्दै थियो ऊ, उसले मरीमरी काम गरेर के भो र ! पुरस्कार पाउने बेलामा मैले पाएँ । पत्रिका पनि हिस्स परे होलान् नि आज त । मैले धेरै पैसा खर्चिनु परेन । आएको मात्र पच्चीस प्रतिशत त हो । गर्वपूर्वक अट्टहास हाँसो हाँस्दै थियो चतुरमान ।

दलसिंहले थप्दै थियो– मेरो कुरा भने बेग्लै छ साथी हो । मेरो विषयमा त फलना नेताले फोन गरिदिनु भएको कुरै काट्न सकेनन् । काटुन पनि कसरी, उसलाई बढुवा चाहिएको छ नत्र एकदिन पनि कार्यालयमा हाजिर नभइकन पुरस्कार पाउनुको मजा पनि बेग्लै हुँदो रहेछ । दलसिंहको वियरले टिल परेको थियो । चटकलाल त साँच्चै चटके पो रहेछ । उसले आफ्नो पौरख सुनाउदै थियो– मेरो कुरा भने भिन्नै छ सोम हो । आफु त कार्यालयको सबै समानको खरिदकर्ता । बिल बढाइन्थ्यो, हरेक शुक्रवारको हाकिमको गुड फ्राइडेको व्यवस्थापन मेरो जिम्मा । आफ्नो सुको पनि नजाने, आफूले दिएको जस्तो पनि हुने । गणेशलाल रक्सीले मातिएको थियो । उसको स्वर लर्बराइरहेको थियो । रक्सीले गर्दा बुझ्न पनि गाह्रो जस्तो भैसकैको थियो । त्यहि पनि नलाएको भान गर्दै फलाक्दै थियो– साला केटा हो । मेरो कहानी भने तिमिहरुको भन्दा अलिक फरक छ । मैले त हाकिमको चाकडी नै गरिन यार । हाकिम कार्यालयमा सारै आदर्श बन्ने । तर के गर्ने सबै काम कुरा श्रीमतीमार्फत् गर्दो रहेछ । मैले त श्रीमतीको चाहाना र इच्छाअनुसार घरको व्यवस्थापन गरिदिएँ । म्यामको कोटामा परें यार म्याम !

उनीहरुले आफ्नो भ्रष्टाचाररुपी पौरख पोख्दै थिए । मंगले भने रिसले चुर हुदै थियो । उसले कार्यालयमा सेवा लिन जाँदा भोगेका पीडा, छोराछोरीलाई पढाउन भनी ऋण खोजेको पैसा रिसवत वापत खुवाउँदा छोराछोरीलाई पढाउन नसकेको पीडा, सेवा लिन जाँदा सुन्न परेको कर्कस स्वर भुल्न सकेको थिएन । त्यसैले रिसले चुर बन्दै गइरहेको थियो । अझ उसलाई रिस त तब उठेको थियो जब ऊ कार्यालयमा सेवा लिन जाँदा जसबाट सहज, सरल र राम्रो सेवा र व्यवहार पाउँथ्यो । उसलाई खिसी र ट्यूरी गर्दै त्यसले के पायो भन्दै गिज्याउँदै थिए । जो वास्तवमा पुरस्कारको साँचो हकदार थियो ।

अब भने मंगलेले सबै सुन्ने गरी चिच्चाइ रहेको थियो । ऊ फलाक्दै थियो– गर न गर, कसैले विद्रोह गर । सक्छौ सेवा भित्रबाटै बिद्रोह गर, नत्र सेवाग्राहीले पनि विद्रोह गर । यस्ताहरुको भण्डाफोर गर । म पनि पीडित सेवाग्राहीको नाताले नेपालको झण्डा फहराउँदै विद्रोह होमिने छु । बन्न परे हाँसीहाँसी प्रशासनिक विद्रोहको पहिलो सहिद बन्ने छु । चाहे हातमा हातकडी र खुट्टामा नेलकडी नै किन नठोकिउन, छातीमा गोली नै किन नठोकियोस् ।

घटना काल्पनिक हो, कतै पात्रहरुको नाम मिल्न गएमा संयोग मात्र हुनेछ । साथै लेख पुरस्कृत पात्र चयनमा राज्यको विशेष ध्यान पुगोस् भन्ने उद्देश्यले तयार गरिएको हो । कोही कसैप्रति आग्रह पूर्वाग्रह छैन ।

( लेखक नेपाल राष्ट्रिय कर्मचारी संगठनको निवर्तमान अध्यक्ष हुनुहुन्छ ।)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्