ओलीको शुभकामनालाई मोदीको जवाफ- भारत सम्बन्ध सुदृढ पार्न चाहन्छ – Janadesh Daily | ePaper

ओलीको शुभकामनालाई मोदीको जवाफ- भारत सम्बन्ध सुदृढ पार्न चाहन्छ


जनादेश, काठमाण्डौ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत-नेपालबीचको सम्बन्धलाई थप सुदृढ पार्न चाहेको बताएका छन् । मोदीको ७०औ जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ट्विट मार्फत दिएको शुभकामना सन्देशको जवाफमा मोदीले यस्तो बताएका हुन् ।

ओलीलाई ट्वीटमै धन्यवाद दिएका मोदीले दुइ मुलुकबीचको सम्बन्ध ऐतिहासिक र सांस्कृतिक आधारमा सुदृढ पार्न चाहेको उल्लेख गरेका छन् । ओलीले ट्वीट गर्दै दुइ मुलुकबीचको सम्बन्ध सुदृढिकरण गर्न मोदीसँग निकट भएर काम गर्न इच्छुक रहेको बताएका थिए ।

गत नोभेम्बरमा भारतले अतिक्रमित नेपाली भुमि समेटेर नयाँ राजनीतिक नक्शा जारी गरेपछि दुइ मुलुकबीच सिमा विवाद कायमै छ । नेपालले भारतको कब्जामा रहेको आफ्नो भुमि लिपुलेक, लिम्पियाधुरा र कालापनी समाहित गरेर वास्तवकि नक्शा जारी गरेयता दुइ मुलुकबीच संवादहीनताको अवस्थामा छ ।

भारतीय नाकाबन्दीविरुद्ध राष्ट्रियताको नारा उठाउँदै सत्तामा पुगेका ओलीमाथि भारतसँग कुटनीतिक सम्बन्धलाई सही ढंगले सञ्चालन गर्न नसकेको आरोप लाग्दै आएको छ ।

पछिल्लो नक्शा विवादपछि ओलीले दिएको अभिव्यक्तिका कारण दुई देशबीचको राजनीतिक सम्बन्ध चिसिएको चर्चा चलिरहेको छ ।

नेकपा स्थायी समिति बैठक चलिरहेकै समयमा ओलीले भारतीय राजदूत र संयन्त्रहरु आफूलाई हटाउन लागि परेको अभिव्यक्ति दिएपछि भारतीय संस्थापन क्रुद्ध बनेको त्यहाँका सञ्चार माध्यमले बताएका थिए ।

सम्बन्ध चिसिएकै बेला यस अघि ओलीले भारतको स्वतन्त्रता दिवसको अवसरमा टेलिफोन गरी मोदीसँग दुई पक्षीय हितका विषयमा कुराकानी गर्नुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्