जनताको जीवनशैली सुधारमा सरकारी भूमिका – Janadesh Daily | ePaper

जनताको जीवनशैली सुधारमा सरकारी भूमिका


  • डी.बी. नेपाली ।

कोरोना महामारीको कारण विश्वको आधा जनसंख्या अहिले घरभित्रै थुनिन बाध्य भएको छ । अहिलेसम्म विश्वमा ८ लाख ७८ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । विश्वमा संक्रमितको संख्या २ करोड ७६ लाख ७२ हजार भन्दा बढी पुगेको छ । १ करोड ८७ लाख ९ हजार भन्दा बढी निको भएका छन् ।

नेपालमा ०७६ साल चैत्रदेखि अहिलेसम्म पूर्ण वा आंशिक रुपमा लकडाउन जारी रहेको छ । मानिस रोगले भन्दा बढी भोकले मर्दैछन् । अझै मानसिक तनाव र विभिन्न समस्याले आत्महत्यामा उल्लेख्य वृद्धि भएको छ । लकडाउनको समयमा २ हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।

सकारात्मक तरंग दिमागबाट आउँछ । तर यसलाई अझै शक्तिशाली बनाउन मुटुबाटै तरंग आउनुपर्दछ । विद्युतीय र चुम्बकीय रुपमा पनि दिमागभन्दा मुटुले ५ हजार गुणा बढी तरंग उत्पादन गर्दछ । सकारात्मक सोचले नै सकारात्मक व्यवहार ल्याउँछ ।

यसलाई व्यवस्थापन गर्न नसक्दा मानिस गलत बाटोतिर जान सक्छ । मानिसको दिमाग र पेटबाट सेरेटोनन हर्मोन निस्किन्छ । जसले मानिसलाई खुशी बनाउँछ । खुशी र सन्तुष्टि रहनु नै मानिसले सफलता प्राप्त गर्नु हो ।

दिमागबाट उत्पन्न हुने नकारात्मक ऊर्जाले मानिसलाई गलत बाटोतिर लान्छ । जस्तै चोरी, डकैंती, बलात्कार, विभिन्न अपराध र आत्महत्यासम्म गर्न मानिस बाध्य हुन्छ । यसका पछाडि थुप्रै कारण छन् ।

पहिलो, खानपिन र खेती प्रणालीमा सुधार । भनिन्छ, मानिसले जस्तो खान्छ, त्यस्तै बन्छ । अहिले हाम्रो खानामा अत्याधिक विषादियुक्त रासायनिक मल प्रयोग भएको पाइन्छ । प्याकेट बन्द जंक फुडको प्रयोग बढ्दै गएको छ । जो मानव शरीरको लागि अति नै हानिकारक छन् ।

यसले मानिसको सोचाइ, व्यवहार, शारीरिक वृद्धिमा प्रतिकूल प्रभाव पार्ने गर्दछ । विषादिरहित अर्गानिक खानाले पहिला मानिस स्वस्थ र लामो समय बाँचेको पाइन्छ । तर अहिले मानिसको विभिन्न रोगले कम उमेरमा नै मृत्यु हुने गरेको छ । हामीले खेतलाई सुधार गर्यौ भने पेटको सुधार हुन्छ ।

पेट सुध्रियो भने दिमागी क्रियाकलाप र व्यवहारमा स्वतः सुधार आउँछ । राज्यले विषादियुक्त रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाउनु पर्ने हो । देशलाई पूरै जैविक मल (अर्गानिक) को प्रयोगमा सहयोग र प्रोत्साहन गर्नुपथ्र्यो ।

अर्गानिक कृषि उपजमा जापान विश्वमै अग्रपंक्तिमा आउँछ । जापानले कृषिमा रासायनिक मललाई पूर्णरुपमा निषेध गरेको छ । मानव मलमूत्रलाई प्रोसेस गरी मलको रुपमा प्रयोग गर्ने गर्दछन् । यसका साथै कम्पोष्ट जैविक मलको पनि प्रयोग गर्ने गरको पाइन्छ ।

जसबाट जापानी विश्वमा बाँच्ने सरदर आयु उच्चमध्येमा पर्दछ । अनि स्वस्थ र तन्दुरुस्त पनि छन् । नेपालमा भने मानव मलमूत्र र फोहोर सिधै नदीनालामा हाल्ने गरिन्छ । यसबाट वातावरणीय समस्या र कृषि मल त्यत्तिकै खेर गइरहेको छ । यसलाई सही तरिकाले प्रयोग गर्न सके वर्षेनी रासायनिक मल आयतमा जाने अरबौ रकम बचत हुनसक्छ ।

मानव मलमूत्रलाई मलको रुपमा प्रयोग गर्ने तौरतरिका कृषिविज्ञ डा. मदन राईले प्रचार–प्रसार गर्दै आउनु भएको छ । केही हिमाल/पहाडी जिल्ला, भक्तपुर र ललितपुरको खोकना क्षेत्रमा यस्तो मलको प्रयोग गरेको पाइन्छ ।

यसलाई अभियानकै रुपमा विकास गर्न सकेमा जमिन र मानव स्वास्थलाई बचाउन सकिन्छ । तर मोटो रकम कमिशनको लोभमा विषादियुक्त रासायनिक मलको आयत रोकिएको छैन । यसले जनताको स्वास्थ्ययमा प्रतिकूल असर पारिरहेको छ ।

यसतर्फ कसैको ध्यान गएको देखिँदैन । दोस्रो, स्वच्छ हावा । जो मानिस भौगोलिक रुपमा उच्चस्थान र जङ्गलको वरिपरि बसेको हुन्छ । उसको सोच्ने तौरतरिका र सहरी धुवाधुलो र कोलाहालको बीचमा बस्ने मानिसमा निकै ठूलो अन्तर पाइएको छ ।

प्रशस्त अक्सिजन भएको ठाँउमा मानव शरीरमा फोक्सो हुँदै रगतको माध्यमबाट दिमागसम्म पुग्छ । यसबाट उसको सोचाई पनि राम्रो र तीक्ष्ण हुने कुरा अनुसन्धानबाट पुष्टि भएको छ । तर कार्बन मिश्रित हावाले तुलनात्मक रुपमा सोचाइमा समेत नकारामक असर गर्ने गर्दछ ।

यसैले अक्सिजन जीवनको स्रोत हो । तर भष्मासुर डोजरे विकासले मुलुक तिव्र मरुभूमिकरणतर्फ उन्मुख छ । हरियाली र पर्यावरणमैत्री विकास एकादेशको कथाजस्तो भएको छ ।

वैज्ञानिक शिक्षा नीति :

देशमा असल नागरिक उत्पादनका लागि शिक्षाको अहम् भूमिका रहेको हुन्छ । सही वैज्ञानिक शिक्षा नीतिको कारणले सभ्य नागरिक तयार गर्नमा मद्दत पुग्छ । २०४६ सालपछि निजीकरण/उदारीकरणको पश्चिमा हावाले शिक्षा क्षेत्रलाई पनि बढार्ने काम भयो । जुन एकदमै गलत थियो ।

जुन शिक्षाले चार थरीका नागरिक उत्पादन गरेको छ । जसमा उच्चवर्ग विदेशमा, मध्यमवर्ग स्वदेशकै महंगो विद्यालयमा, निम्न मध्यमवर्ग सार्वजनिक विद्यालय र विपन्न वर्गले सरकारी विद्यालयमा छोराछोरीलाई पढाउँछन् ।

यसरी एउटै देशका नागरिक चार तहमा विभाजित भएर शिक्षा आर्जन गरिरहेका छन् । राज्यको दायित्व भित्रको शिक्षालाई व्यापारीको जिम्मा लगाउनु हदैसम्मको अपराध हो । गलत शिक्षा नीतिले सामाजिक रुपमा वर्ग विभाजन र वैमनष्यतालाई मलजल गरेको छ ।

बरु पञ्चायतकालमा करोडपतिका र गरीबका छोराछोरीले एउटै विद्यालयको छानामुनि बसेर पढ्न पाएका थिए । राजनीतिक दल र नेतृत्वले राजतन्त्र र पञ्चायतको जत्ति पनि गुणस्तरीय शिक्षा दिन किन सकेनन् ? समाजवाद उन्मुख शिक्षा नीतिलाई समीक्षा गर्न जरुरी छ ।

स्वच्छ पिउने पानी :

मानव शरीरका लागि हावा जस्तै अति महत्वपूर्ण कुरा पानी हो । मुहानबाट बगेर आउने पानी पिउने र जार, बोतलको पानी पिउनेको सोचाइमा केही न केही भिन्नता पाइन्छ ।

अक्सर शहरी बसोबास स्वच्छ पानीको आशा गर्न मुश्किलै छ । पानीले पनि मानिसलाई स्वस्थ बन्नमा ठूलो मद्धत गर्ने गर्दछ । सोली आकारको भाँडाकुँडा भन्दा फाँटिलो आकार र तामाको भाँडाको पानी पिउनु उत्तम मानिन्छ ।

आयतमा रमाउने राज्यका कारण कामी र बाँडाको भाँडाकुँडा विस्थापित भयो । बिहानै उठ्न साथ मनतातो दुई गिलास पानी पिउँदा धेरै रोगबाट पार पाउन सकिन्छ ।

स्वास्थ्य विज्ञका अनुसार आफ्नो शरीरको तौललाई २० अंकले भाग गर्दा आउने परिणाम जति अंक हुन्छ । त्यति नै लिटर पानी दिनहुँ पिउने गर्नुपर्दछ । शरीर र दिमागलाई ताजा राख्न पानी अतिनै जरुरी छ ।

देशको सामाजिक परिवेश :

नेपालमा बिगत अढाई दशकमा निकै ठूलो परिवर्तन पनि भए । यस बीचमा दश वर्षको रक्तपातपूर्ण द्वन्द्व, ०६२/०६३ को जनआन्दोलन, राजतन्त्रको अन्त्य, तराई/मधेश आन्दोलन, रौतहटको नरसंहार, कपिलवस्तुको चन्द्रौटा नरसंहार, टिकापुरको कैलाली घट्ना, रुकुम आमनरसंहार, तराई/मधेशमा दैनिक जसो भैरहेको नृशंस हत्याहिंसा, लामो लकडाउन आदि ।

यी सबै घट्नामा प्रत्यक्ष रुपमा समाज जानकार छ । अहिले द्रुत गतिमा सञ्चालित सामाजिक सञ्जालका कारणले झनै प्रत्यक्ष सूचना उपलब्ध छन् ।

यसरी नेपाली समाज हत्याहिंसा र अपराधका साक्षी किनारा र सहभागिताले अधिकांशमा मानसिक समस्या देखा पर्न थालेको छ । जसले गर्दा कतिबेला के कस्तो अप्रिय घटना हुने हो पत्तो छैन । यस अघि मानिस सापेक्षित रुपमा समझदार थिए ।

वादविवाद र भनाभनलाई पनि सहन गर्न सक्थे । तर अहिले त्यस्तो छैन । सामान्य भन्दा सामान्य वादविवादमा पनि मानिसको ज्यानै लिने घटनामा वृद्धि भैरहेको छ । एक प्रकारले सिंगो नेपाली समाज गम्भीर प्रकारको मानसिक रोगले ग्रस्त देखिन्छ ।

जो हिजोको कहालीलाग्दो हत्याहिंसा, अपराधमा प्रत्यक्ष रुपमा संलग्न थिए । त्यसैको सहउत्पादन वर्तमान अपराधका घट्नाको जरो हुनसक्छ । यसको न्यूनिकरण र उपचारमा अहिलेसम्म कसैको ध्यान गएको देखिदैन ।

लोककल्याणकारी गणतान्त्रिक राज्यले ध्यान दिनुपर्ने हो । तर यस विषयमा कसैको सोच पुगेको छैन । अक्सर राज्यसंयन्त्रमा माफिया, दलाल, भ्रष्टाचारी र तष्करको कब्जामा गएको छ । स्वास्थ्य मन्त्रालयकै नेतृत्व विभिन्न भ्रष्टाचारका काण्डमा मुछिन्छ भने अरु के आशा गर्ने ?

यस्तो अवस्थामा अझै डरलाग्दो अर्को घट्नाको समाचार कतिखेर आउने हो भन्ने त्रासमा जनता बाँच्नु परेको छ । विश्व स्वास्थ्य संगठनको प्रक्षेपणअनुसार सन् २०३० सम्ममा विश्वको प्रमुख समस्याको रुपमा मानसिक रोग बन्दैछ ।

यस तथ्यबाट आगामी दिन अझै चुनौतीपूर्ण बन्दैछ । यसको रोकथामको लागि अहिलेसम्म कुनै पूर्वतयारी गरेको देखिँदैन ।

अनियन्त्रित सामाजिक सञ्जालको बाढी :

वर्तमान समय विश्वनै एउटा मोबाइलमा अटाएको छ । क्षणभरमै विश्वको जुनसुकै कुनाको समाचार हातहातको मोबाइलमा आइपुग्छ । राज्यले चाहेमा सामाजिक सञ्जाललाई नियन्त्रण गर्न सक्छ ।

तर सम्बन्धित अधिकारीको ध्यानै गएको जस्तो देखिँदैन । सामाजिक मर्यादाको ख्यालै नगरी पोष्ट गरेर भाइरल बन्ने फेसबुक, यूट्युबको होडबाजी नै चलेको छ । यसबाट समाजमा हिंसाले प्रतिहिंसा जन्माईरहेको छ । जसलाई सामाजिक सञ्जाल पनि पत्रकारिता नै हो भन्ने जानकारी छैन ।

उनीहरुले मिडिया साक्षरता र पत्रकारिता आचारसंहिताको ख्याल गर्ने कुरै भएन । लकडाउनको समयमा नेपालमा मात्रै इन्टरनेटको प्रयोगमा ५० प्रतिशतले वृद्धि भएको पाइन्छ ।

 पुरातनवादी समाजिक संरचना :

समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्नमा । त्यो समाज कुन दर्शन र मान्यतामा चलेको छ भन्ने कुरामा भर पर्दछ ।

यसै पनि नेपाल विविधताले भरिपूर्ण छ । तर त्यस अनुरुप राज्यले सबैका भावना र मूल्यमान्यतालाई संवोधन गरिएको पाँइदैन । क्षेत्रीय रुपमा तराई÷मधेश, भेरी–कर्नाली, लैंगिक रुपमा महिला, धार्मिक÷भाषिक रुपमा अल्पसंख्यक, जातीय रुपमा आम उत्पीडित समुदायमाथि थिचोमिचो र हेलाँहोचोको व्यवहार उस्तै छ ।

राज्य असमानुपातिक, अनुदार र वहिष्करणको कारणले राज्यसंरक्षित हत्याहिंसा, अपराधका घटनामा वृद्धि हुने गरेको पाइन्छ ।

 विविध :

सामाजिक हत्याहिंसा, अपराध बढाउने अन्य विषयमा बेरोजगारी, कमजोर आर्थिक अवस्था, पारिवारिक वेमेल, वैदेशिक रोजगारीको दुष्परिणाम, देखासिकी जीवनशैली, धुम्रपान, मद्यपानको कुलत जस्ता विकृतिले गर्दा वृद्धि हुने गर्दछ ।

राज्यले प्रभावकारी उपस्थिति र अभिभावकत्व नदिँदा अपराध वृद्धि भैरहेको छ । यसलाई रोक्न भ्रष्टाचार, दलाली, माफिया, कालोबजारी, कमिशनखोरको अन्त्य गरिनुपर्दछ । अर्कोतर्फ अपराध र अपराधी संरक्षणमा राज्य नै लाग्नु अर्को मुख्य कारक हुनसक्छ ।

समाधानको विकल्प :

 आफ्ना देशका नागरिकको आधारभूत आवश्यकता परिपूर्ति गर्नु राज्यको कर्तब्य र दायित्व हो । लोककल्याणकारी राज्यले यसबाट पन्छिन मिल्दैन । नागरिकले इमान्दरीपूर्वक राज्यलाई कर तिरेपछि ।

राज्यले पनि सहज रुपमा सेवासुविधा प्रदान गर्न सक्नुपर्दछ । विना भेद्भाव प्रत्येक नागरिकले राज्यको उपस्थितिको देखिने गरी सेवा पाउनु पर्दछ । सामाजिक रुपमा सम्मानित समानता, प्रतिनिधित्वको रुपमा पूर्ण सहभागीता र राज्यको स्रोतसाधन बाँडफाँडमा निश्पक्षता हुनुपर्दछ ।

स्वास्थ्य, शिक्षा, रोजगार, औषधोपचार जस्ता आधारभूत आवश्यकता । हरेक नागरिकको जन्मसिद्ध नैसर्गिक अधिकार नै हो ।

जनतालाई सहज रुपमा सेवासुविधा उपलब्ध गराउनु राज्यको मूल जिम्मेवारी हो । यति कुरा पनि व्यवस्था गराउन नसक्ने सरकार र नेतृत्वको कुनै औचित्य रहन सक्दैन । जहाँ अभाव,असमानता, विभेद र वेरोजगार रहन्छ ।

त्यहाँ विद्रोह र अशान्ति पैदा हुन्छ । तसर्थ, वर्तमान कोरोनाको असहज अवस्थालाई समेत ध्यान दिइ दीर्घकालीन समाधान खोज्न जरुरी छ । विश्वव्यापी र आन्तरिक रुपमा पनि आर्थिक मन्दीले नराम्ररी गाँजेको छ ।

लगभग ५० लाख बेरोजगारीलाई व्यवस्थापन गर्ने सरकारको नीति, योजना खै ? राजनाीतिक नेतृत्व आपसी कलह र भागबन्डाको घृणित राजनीतिमा रुमलिरहेको छ ।

तसर्थ आगामी दिन अचिन्तनीय र अनपेक्षित अवस्था आउन सक्ने देखिन्छ । समय छँदै समाधानको लागि सरकारको ध्यान जानैपर्दछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्