नेपाली काङ्ग्रेस: प्रधानमन्त्रीका अयोध्यासम्बन्धी भनाइबारे सरकार र नेकपाले प्रस्ट पार्नुपर्ने प्रतिपक्षको माग – Janadesh Daily | ePaper

नेपाली काङ्ग्रेस: प्रधानमन्त्रीका अयोध्यासम्बन्धी भनाइबारे सरकार र नेकपाले प्रस्ट पार्नुपर्ने प्रतिपक्षको माग


बिबिसी

विश्वप्रकाश शर्मा

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिले ‘गम्भीर प्रश्न सिर्जना गरेको’ भन्दै सरकार र सत्तारूढ दलसँग स्पष्‍टीकरणको माग गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिहरू र व्यवहारप्रति आफूहरूको गम्भीर विमति रहेको काङ्ग्रेसले बताएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले बुधवार जारी गरेको विज्ञप्तिमा ‘प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलताभन्दा पर व्यक्तिगत सनकको कैदी बन्न नमिल्ने’ उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ: “संस्थागत जिम्मेवारीभन्दा अलग निर्दलीय आधिपत्य प्रधानमन्त्री पदमा संविधानले परिकल्पना गरेको छैन।”

काङ्ग्रेसको विज्ञप्तिमा अरू के छ?

“अतः प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र व्यवहार सम्पूर्ण रूपले बदल्ने या प्रधानमन्त्री नै बदल्ने, उहाँकै दल नेकपाको विषय हो।”

“तर दुई प्रश्न, देशको प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन? अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो होइन?”

नेपाल-भारत

प्रधानमन्त्री ओलीले पौराणिक पात्र राम र उनको जन्मभूमि अयोध्याबारे गरेको टिप्पणीको व्यापक आलोचनापछि मङ्गलवार परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको थियो।

मङ्गलवार साँझ प्रकाशित विज्ञप्तिमा प्रधानमन्त्री ओलीको भनाइ “कुनै राजनीतिक विषयसँग सम्बन्धित नभएको” र “कसैको भावनामा आघात पुर्‍याउने उद्देश्यले नगरिएको”मा जोड दिएको छ।

‘क्षति कम गर्ने उद्देश्य’

तर प्रधानमन्त्रीले बोलेको कुरामा परराष्ट्रले क्षति कम गर्ने उद्देश्यका साथ विज्ञप्ति जारी गरेको आफूहरूको बुझाइ रहेको काङ्ग्रेस नेता मिनेन्द्र रिजाल बताउँछन्।

रिजालले भने, “प्रधानमन्त्रीले आफ्नै खुट्टामा बन्चरो हान्ने काम गर्नु भएन। कालिदास जस्तो आफू बसेको हाँगामा बन्चरो हान्न थाल्नु भयो। त्यो चिन्ताको विषय हो।”

मिनेन्द्र रिजाल

“नेपालका प्रधानमन्त्री नेपाललाई नै अहित गर्ने कुरा बोल्ने र त्यसलाई ढाकछोप गर्न परराष्ट्रले विज्ञप्ति जारी गर्ने। योभन्दा लज्जाजनक कुरा के हुन सक्छ?”

ओलीको अभिव्यक्तिको चौतर्फी विरोध भएको छ।

धेरैले उक्त दाबीलाई पुष्टि गर्ने तथ्य र प्रमाण नभएकोले सीमा विवादका कारण चिसिएको नेपाल-भारत सम्बन्धमा अझ नकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गरेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्