कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७०० नाघ्यो – Janadesh Daily | ePaper

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७०० नाघ्यो


सुर्खेत, १ साउन (रासस) :

कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या नियमित बढिरहेको छ ।

दैनिक दर्जनौँ मानिसमा कोरोना देखिँदैछ छ, तर राजधानी सुर्खेतको वीरेन्द्र्रनगरका बजार तथा कार्यालयमा मान्छेको भीड त्यत्तिकै देखिन्छ । नागरिकमा विगतको जस्तो कोरोना आतङ्क पनि घट्दै गएको छ ।

सामान्यतः कसैलाई देखिएमा आसपासका मान्छेहरुमा केही प्रभाव परे पनि अन्य व्यक्तिले यसलाई सामान्यरूपमा लिन थालेका छन् । कोरोना नहुँदै कडा भएको लकडाउन पछिल्लो समयमा फितलो हुँदै गएको छ ।

त्यसले गर्दा पनि कोरोना सङ्क्रमित हुने क्रम रोकिएको छैन । बुधबार पनि थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार यहाँ २७ जनामा सङ्क्रमण देखिएको थियो । मङ्गलबार नै कर्णाली प्रदेशसभाका एक सांसदमा कोरोना सङ्क्रमण पुष्टि भयो । अहिले भारतबाट आएका मात्र नभई अन्य नागरिक सङ्क्रमण देखिन थालेको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले सबै क्षेत्रको हेलचक्र्याइका कारण कोरोना समुदायस्तरसम्म फैलिएको बताउनुभयो । “अहिले भारत तथा अन्य मुलुकबाट आएका मान्छेमा मात्र कोरोना देखिएको छैन”, निर्देशक डा खड्काले भन्नुभयो, “यो त स्थानीय व्यक्तिमा पनि देखिन थालेको छ ।” यसमा सबै क्षेत्र, निकाय र व्यक्तिले सावधानी अपनाउनुपर्ने उहाँको भनाइ थियो ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसीआर परीक्षणमा सुर्खेतका १४, दैलेखमा तीन, सल्यानका दुई, जुम्ला र अछाममा एक/एक व्यक्तिमा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनरायण तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै, चौरजहारी नगरपालिका पिसीआर प्रयोगशाला रुकुमपश्चिमा गरिएको पिसीआर परीक्षणमा सल्यानका तीनसहित २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

महाशाखा प्रमुख डा तिवारीका अनुसार बुधबार २४ जना थपिएसँगै अब कर्णालीमा सङ्क्रमितको सङ्ख्या एक हजार ७१४ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्