विकास बजेट अघिल्लो वर्षको तुलनामा कम खर्च – Janadesh Daily | ePaper

विकास बजेट अघिल्लो वर्षको तुलनामा कम खर्च


चितवन (रासस) :

जिल्लामा सङ्घीय सरकार र प्रदेश सरकारले विकास निर्माणका लागि विनियोजना गरेको बजेट खर्च प्रभावकारी रुपमा हुन नसकेको पाइएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाको विकास निर्माणका लागि विनियोजित बजेटमध्ये सङ्घीय सरकारको ५८ दशमलव ४७ प्रतिशत र प्रदेश सरकारको ५२ दशमलव ९१ प्रतिशत मात्र खर्च भएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा सङ्घीय सरकारबाट जिल्लाको विकास निर्माणका लागि विनियोजित बजेटमध्ये ७१ दशमलव २२ प्रतिशत र प्रदेश सरकारको ६४ दशमलव २० प्रतिशत खर्च भएको थियो । कार्यालयका सूचना अधिकारी कोष नियन्त्रक शरद भट्टराईका अनुसार गत आर्थिक वर्षमा सङ्घीय सरकारबाट विनियोजित बजेटमध्ये रु तीन अर्ब ६८ करोड १३ लाख ४० हजार ६२५ मात्र खर्च भएको छ । जसमा कूल विनियोजित बजेट रु छ अर्ब २९ करोड ६१ लाख नौ हजार ६९८ रहेको थियो ।

यस्तै प्रदेश सरकारले जिल्लाको विकासका लागि रु दुई अर्ब २८ करोड ३१ लाख ६८ हजार विनियोजन गरेको थियो । जसमध्ये रु एक अर्ब २० करोड ८१ लाख तीन हजार १३० मात्र खर्च भएको छ । जुन विनियोजित बजेटको ५२ दशमलव ९१ प्रतिशत हुन आउँछ । कोरोना भाइरसको सङ्क्रमणका कारण विकास निर्माणका काम प्रभावित भएकाले अघिल्लो वर्षको तुलनामा विकास बजेट कम खर्च भएको हो । धेरै काम हुने समयमा कोरोनाको प्रभाव परेको थियो । ठूला आयोजनाले समेत कामलाई तीव्र बनाउन नसक्नु, नेपालमा समय सकिन लाग्दा काम गर्ने परिपाटीका कारणसमेत विकासका काम हुन नसकेको भट्टराईले बताउनुभयो ।

चालु खर्च बढ्नु निरासाजनक र पूँजीगत खर्च बढ्नु उत्साहजनक भए पनि विकास निर्माणको बजेट खर्च हुन नसक्नु चिन्ताजनक रहेको उहाँको भनाइ छ । जिल्लामा यस वर्ष सङ्घीय सरकारका लागि रु २४ अर्ब २३ करोड ६८ लाख ९० हजार राजश्व सङ्कलन भएको छ भने प्रदेशतर्फ रु ५६ करोड १९ लाख ६५ हजार सङ्कलन भएको कार्यालयले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्