असार मसान्तभित्रै ७६ प्रतिशत रोपाइँ सकियो – Janadesh Daily | ePaper

असार मसान्तभित्रै ७६ प्रतिशत रोपाइँ सकियो


Dhaan Ropai - Everest Uncensored

खोटाङ (रासस) :

बाह्र हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको खोटाङमा हालसम्म ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्ष समयमै पर्याप्त वर्षा भएका कारण साउन नलाग्दै ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । बेँसी क्षेत्रमा लगाइएको चैते धान र मकै भित्र्याउन बाँकी भएकाले बेँसी क्षेत्रमा भने रोपाइँ हुन बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताउनुभयो ।

“चैते धान र मकै भित्र्याएपछि बेँसी क्षेत्रमा रोपाइँ हुने छ”, उहाँले भन्नुभयो, “जिल्लामा कूल १४ हजार १५९ हेक्टर खेत भए पनि १२ हजार ८९८ हेक्टरमा मात्र धान खेती लगाउने गरिएको छ ।” सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाइँ हुने गरे पनि सिञ्चित र असिञ्चित खेतमा वर्षा भएपछि मात्र रोपाइँ हुने गरेको छ ।

सिञ्चित खेतमा जुनसुकै समयमा रोपाइँ गर्न सकिए पनि आकाशे पानीको भरमा रोपाइँ हुने असिञ्चित खेतमा वर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन् । जिल्लाको दिक्तेल, नेर्पा, खार्पा, हौँचुर, दोर्पा चिउरीडाँडा, मात्तिम, छोरम्बु, बतासे, सप्तेश्वरछितापोखरी, सिम्पानी, इन्द्रेणीपोखरी, लिच्कीराम्चे, बड्कादियाले, सावाकटहरे, खोटाङबजारलगायत ठाउँमा सबैभन्दा बढी धानखेती हुने गरेको छ ।

सिञ्चित ११ हजार ४०० हेक्टर र आकाशे पानीको भरमा रोपाइँ हुने तीन हजार ८०२ हेक्टर असिञ्चित जग्गामा धान रोपाइँ हुने गरेको छ । खेतीपातीबाहेक अन्य आम्दानीको स्रोत नहुने जिल्लामा गत वर्ष लामो समयसम्म खडेरी जाँदा ४० प्रतिशत खाद्यान्न उत्पादन घटेको कृषि ज्ञान केन्द्रको अनुमान छ ।

दैनिक छाक टार्नको लागि एक मात्र विकल्प रहेको खेतीपाती लामो समयको खडेरी र फौजी किराको प्रकोपले सखाप पारेपछि जिल्लामा भोकमरी शुरु भएको छ । गत वर्षको खडेरीले सबैभन्दा बढी हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दालाई समस्या पारेको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकामा खडेरीका कारण खाद्यान्न सङ्कट भएपछि नगरपालिकाले रु एक करोड ३० लाख बराबरको चामल खरिद गरेर वितरण गरिरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्