विश्वमा एक दिनमै १२ हजार कोरोना संक्रमितको मृत्यु, १ करोड ७३ लाख सक्रिय संक्रमित – Janadesh Daily | ePaper

विश्वमा एक दिनमै १२ हजार कोरोना संक्रमितको मृत्यु, १ करोड ७३ लाख सक्रिय संक्रमित


एजेन्सी ।

विश्वका विभिन्द देशमा चिसो मौसम सुरु भएसँगै कोरोनाका कारण संक्रमित र मृत्यु हुनेको संख्या नाटकीयरुपमा बढ्न थालेको छ ।

दैनिक मृत्यु हुने संख्यामा हरेक दिन नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा १२ हजार संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि बुधबार ११ हजार ७३३ संक्रमितको मृत्यु भएको थियो । चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ । अहिलेसम्म विश्वभर १४ लाख २५ हजार ८४६ जनाको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ४६९ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५६ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ६९६ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५६ हजार ५३३ पुगेको छ ।

जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ ।

युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ५२ हजार २८ जनाको मृत्यु भएको छ । फ्रान्समा पनि ५० हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।

एसियाली मुलुकमा २ लाख ८३ हजार ३१३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७६८ जनाको मृत्यु भएको छ ।

एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ३५ हजार २६१ जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका सक्रिय संक्रमितको संख्या १ करोड ७३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ७ हजार ३५१ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ७३ लाख ३० हजार २९२ पुगेको छ । यसमध्ये १ लाख ३ हजार ५३८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कुल संक्रमितको संख्या ६ करोड ७ लाख ४ हजार १९५ पुगेको छ । त्यसमध्ये ४ करोड १९ लाख ३७ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

भारतमा १ लाख ३५ हजार संक्रमितको मृत्यु

भारतमा १ लाख ३५ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५१८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार २६१ पुगेको हो ।

त्यहाँ २४ घण्टामा ४४ हजारभन्दा बढी संक्रमित भएका छन् । योसँगै संक्रमितको संख्या ९२ लाख ६६ हजार ६९७ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्