सिटीलाई हराउदै आर्सनल एफए कपको फाइनलमा – Janadesh Daily | ePaper

सिटीलाई हराउदै आर्सनल एफए कपको फाइनलमा


एजेन्सी साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल इंग्ल्यान्डको सबैभन्दा पुरानो र चर्चित एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

वेम्वली स्टेडियममा शनिबार राति भएको खेलमा सर्वाधिक १३ पटकको च्याम्पियन आर्सनलले सिटीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । आर्सनलको जितमा दुवै गोल कप्तान पिएरे इमिरिक औवमियाङले गोल गरे ।

खेलको शुरुवातदेखि नै सिटीले आर्सनललाई दवावमा राखेको थियो । चौथो मिनेटमा नै रहिम स्ट्रलिङको लो क्रसमा कप्ता डेभिड सिल्भाको प्रहारलाई डिफेन्डर काइरन टिएरनीले ब्लक गरिदिए । १०औं मिनेटमा रियाद महारेजको हेडरलाई ग्रानिट जाहाले नियन्त्रणमा लिदै गोल टारे ।
१७औं मिनेटमा सेन्टर ब्याक डेभिड लुइजको चलाखीपुर्ण थ्रु पासमा कप्तान औबामियाङको प्रहारलाई सिटीका गोलरक्षक इडर्सन मोरेसले नियन्त्रणमा लिदा आर्सनलले अग्रता लिने अवसर गुमायो ।

त्यसको दुई मिनेटपछि नै आर्सनलले औवामियाङको गोलबाट खेलमा अग्रता लिन सफल भयो । १९औं मिनेटमा निकोलस पेपेको क्रस पासलाई औवामियाङले गोल गर्दै अग्रता दिलाए । ४०औं मिनेटमा शोकद्रान मुस्ताफीको हेडरलाई सिटीका गोलरक्षक इडर्सनले बचाउदा आर्सनल अग्रता दोब्बर बनाउनबाट चुक्यो ।

दोस्रो हाफको शुरुवातै रहिम स्ट्रलिङले गोल गर्ने मौका चुकाउदा बराबरीको अवसरसमेत गुम्यो । ५४औं मिनेटमा महारेजको प्रहारलाई आर्सनलका गोलरक्षक इमिलियानो मार्टिनेजले नियन्त्रणमा लिदै सिटीलाई निराश पारे । ६१औं मिनेटमा केभिन डि ब्रुयनको २५ यार्ड टाढाको फ्रिकिक प्रहार पोस्टबाट थोरै बाहिरियो । ६५औं मिनेटमा डि ब्रुयनको क्रसलाई आर्सनलका रक्षक डेभिड लुइजले रहिमलाई कुनै मौका दिएनन् ।

लगातार दवाव झेलिरहेको आर्सनलले ७१औं मिनेटमा अग्रता दोब्बर बनायो । काइरन टिएरनेको पासमा औवामियाङले गोल गर्दै आर्सनललाई २–० ले अघि बढाए । ७० प्रतिशत बल पोजेसन राखेपनि सिटीले आर्सनलको बलियो रक्षापङ्ति तोड्न नसक्दा आर्सनलसँग पराजित हुदै फाइनल पुग्न असमर्थ बन्यो ।

अब आर्सनलले उपाधिका लागि चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको विजेतासँग २ अगस्टमा प्रतिस्पर्धा गर्नेछ । चेल्सी र युनाइटेडबीचको खेल आज राति हुदैछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्