वाइडेन शासनको पूर्वसन्ध्यामा चीनले बनायो अमेरिका लक्षित कडा कानून – Janadesh Daily | ePaper

वाइडेन शासनको पूर्वसन्ध्यामा चीनले बनायो अमेरिका लक्षित कडा कानून


एजेन्सी ।

चीन र अमेरिकाबीचको व्यापार युद्ध नयाँ चरणमा प्रवेश गरेको संकेत देखिएको छ । अमेरिकामा जो बाइडेनको शासन काल सुरु हुने पूर्वसन्ध्यामा चीनले अमेरिकालाई लक्षित गरी जारी गरेका नयाँ कठोर कानुनले थप ‘नियन्त्रित वस्तु’ निर्यातमा रोक लगाएपछि यस्तो अनुमान गरिएको हो ।

यी नियमहरू चिनियाँ राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पार्न सक्ने सैन्य प्रविधि र अन्य उत्पादनको निर्यातसँग जोडिएको छ। नयाँ नियम अमेरिकाले चालेका यस्तै खालको कदमको जवाफ भएको विश्लेषकहरुले बताएका छन् । मङ्गलवार कार्यान्वयनमा आएको नयाँ नियमले चीन र अमेरिकाबीच जारी व्यापार युद्धलाई थप चर्काउने चिन्ता उनीहरुले व्यक्त गरेका छन् ।

यस अघि टिकटक, ह्वावेइ र टेन्सेन्ट जस्ता कम्पनीहरू चिनियाँ प्रविधिमाथि अमेरिकी अंकुशको शिकार भइसकेका छन् । संसारका दुई ठूला अर्थतन्त्रबीच सन् २ हजार १८ बाट व्यापारसम्बन्धी विवाद सुरु भएको भए पनि यो वर्ष त्यो थप चर्किएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले कैयौँ चिनियाँ कम्पनीले चिनियाँ सरकारलाई सूचना उपलब्ध गराउन सक्ने भन्दै तिनीहरूविरूद्ध कार्यकारी आदेश जारी गरेका छन्।

चीनले जारी गरेको कानून अनुसार नियम मिचेको अवस्थामा निर्यातकर्तालाई साढे सात लाख डलरसम्मका कारोबारको १० गुणासम्म जरिबाना गर्न सकिने व्यवस्था गरेको छ ।

यो कानुनले पृथ्वीबाट निकालिने दुर्लभ खनिजको निर्यातलाई पनि प्रभावित बनाउन सक्ने भन्दै त्यसको मूल्य बढेको छ । चीन दुर्लभ बहुमूल्य खनिजहरूको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । ती खनिज मोबाइल फोनदेखि वायु ऊर्जाका लागि आवश्यक टर्बाइन जस्ता विद्युतीय सामग्री बनाउन प्रयोग गरिन्छ ।

जो बाइडेन अमेरिकाको राष्ट्रपति पदमा आसिन हुने पूर्वसन्ध्यामा चीनले चालेको कडा कदमले दुई देशबीचको व्यापार युद्धले नयाँ चरणमा प्रवेश पाएको विश्लेषकहरुको भनाई छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्