पच्चीस बिघा जमीनको धान गर्भैमा कुहिँदा किसान चिन्तित – Janadesh Daily | ePaper

पच्चीस बिघा जमीनको धान गर्भैमा कुहिँदा किसान चिन्तित


जनादेश,  रासस

झापा । झापाको मेचीनगर नगरपालिका–१ स्थित बाहुनडाँगीको सारु गौडा भन्ने ठाउँका किसान २५ बिघा जमीनमा लगाएको धान मर्न थालेपछि चिन्तित बनेका छन् ।

Scientists engineer disease-resistant rice without sacrificing yield

धान रोपेको महिना दिनमै शुरुमा गुभो कुहिने र पछि बोटै मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । “रोपेको १५ देखि २० दिनभित्रमा धान हरियो देखिनुपर्नेमा सबै रातो देखिन्छ”, स्थानीय ४३ वर्षीय किसान सुवेदबहादुर भुजेल टाउकोमा हात राख्दै भन्नुहुन्छ, “गर्भैमा रोग लाग्यो, सबै धान सखाप भयो अब के खानु ।”

उहाँलगायत सारु गौडाका अन्य १० जना किसानले २५ बिघा जमीनमा लगाएको धानमा यो समस्या देखा परेको छ । महँगो खनजोत, मल र बीउको प्रयोग गरी रोपेको धान सुकेपछि किसानमा थप चिन्ता बढेको छ ।

उहाँले गत वर्ष पनि धानमा सो समस्या देखा परेको र औषधि छिट्दा ठीक भएको बताउँदै भन्नुभयो, “धानको गुभोमा लाभ्रेजस्तो किरा देखियो, औषधि छिट्दासमेत मरेन ।

अगुवा रोपाइँ थियो दुई बिघा सबै सखाप भयो ।” उहाँले तीन बिघा जमीनमा रञ्जित धान लगाएको बताउनुभयो । दुई बिघामा लगाएको धान सखाप भए पनि बाँकी रहेको कसरी बचाउने भन्ने चिन्तामा उहाँ देखिनुहुन्छ ।

उहाँले धानमा कुन रोग लागेको र के औषधि छिट्नुपर्छ भन्नेबारे जानकारी नहुँदा समस्या भएको बताउनुभयो । स्थानीय सरकारको ध्यान कृषितर्फ भन्दा पनि बाटो, पुल, कल्भर्टलगायत भौतिक पुनःसंरचनामा देखिँदा किसान मारमा परेको स्थानीय सामाजसेवी गोविन्द न्यौपानेको आरोप छ ।

कृषकको बालीमा लागेको रोग, मल बीउ, प्राविधिक र सिँचाइका समस्यामा स्थानीय सरकारले चासो दिनुपर्ने उहाँको भनाइ छ । “किसानलाई प्राविधिक ज्ञान छैन”, उहाँ भन्नुहुन्छ, “धानमा के समस्या आउँदा कस्तो औषधि छिट्ने भन्ने विज्ञबाट स्थानीय सरकारले बेलैमा तालीम दिएको भए किसान आफैँले सानोतिनो रोगको निदान गर्न सक्थे, आज यस्तो समस्या आउँदैन थियो ।”

कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले जिल्लामा कुनै पनि किसानले रोगका कारण धान मरेको जानकारी नदिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग विज्ञ प्राविधिक छन्, समस्याबारे जानकारी पाए प्राविधिक पठाएर औषधिको व्यवस्था गर्ने थियौँ ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्