भैँसीकिलीमा पुगेर राहत वितरण – Janadesh Daily | ePaper

भैँसीकिलीमा पुगेर राहत वितरण


रासस :

तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले ऋषिङका भैँसीकिली पुगेर आइतबार पहिरो पीडितलाई सहयोग हस्तान्तरण गर्नुभएको छ । ऋषिङ–८ भैँसीकिली निवासी अम्बरबहादुर थापाका पाँच जनाको पहिरोमा परी मृत्यु भएपछि नेता भण्डारी घरमै पुगेर विभिन्न सङ्घ संस्थाबाट आएको सहयोग रकम रु दुई लाख ११ हजार १०५ हस्तान्तरण गर्नुभएको हो ।

गैरआवसीय नेपाली सङ्घ अमेरिकाका क्षेत्रीय संयोजक राजन त्रिपाठी र अमेरिकाका उपाध्यक्ष कृष्णजीवी पन्थबाट प्राप्त रु ५० हजार, नेपाल रेडक्रस सोसाइटी कोटदरबाट रु ७२ हजार ६०५, ऋषिङ ६ का ल्यापटेन परिवारबाट रु २० हजार ५००, नेपाली काँग्रेस ऋषिङबाट रु २१ हजार ५००, शहीद सरस्वतिकृष्ण श्रेष्ठको परिवारबाट रु २० हजार, सोम रानाबाट रु २० हजार र शिक्षक सङ्घबाट रु सात हजार सहयोग प्राप्त रकम उहाँले प्रदान गर्नुभएको हो ।

नेपाली काँग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले र गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको समेत उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । सो अवसरमा पूर्वमन्त्री भण्डारीले यस विपद्को घडीमा तीन तहका सरकारको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

घरमाथिबाट आएको पहिरोले पुरिँदा अम्बरबहादुरका छोरा ३० वर्षीय भेषबहादुर, बुहारी २९ वर्षीया नानुमाया, पाँच वर्षीया नातिनी अमिषाका साथै अर्का छोरा २२ वर्षीय महादेव र बुहारी १९ वर्षीया मनिसराको मृत्यु भएको हो ।

केही दिनअघि मात्रै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले एकै परिवारका पाँच जनाको मृत्यु भएपछि जनही रु ५० हजारका दरले रु दुई लाख ५० हजार मृतकका आफन्त थापालाई प्रदान गर्नुभएको थियो ।

अम्बरकी श्रीमती ६० वर्षीया ज्योतिमाया पहिरोमा परी सख्त घाइते भएकाले अहिले गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेकोे छ ।

त्यसैगरी जिल्लाको व्यास नगरपालिका–९ माझफाँटमा पहिरोमा परी मृत्यु भएका ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज, छोरी २१ वर्षीया अञ्जना, सोही ठाउँकी छिमेकी ७० वर्षीया मैतकुमारी घर्तीका परिवारलाई नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यसअघि नै राहत वितरण गरिसक्नुभएको छ ।

तनहुँमा चार स्थनामा गएको पहिरोमा परी ११ जनाको निधन भएको छ भने एक जना अझै बेपत्ता छन्

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्