प्रचण्ड निकटको खुमलटार भेला : ध्रुवीकरण कि एकता ? – Janadesh Daily | ePaper

प्रचण्ड निकटको खुमलटार भेला : ध्रुवीकरण कि एकता ?


जनादेश, काठमाडौं ।

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निकट नेताहरुका वैठक खुमलटारमा बसेको छ । प्रधानमन्त्री ओली र पार्टी महासचिव विष्णु पौडेलले आफूलाई फसाउन र बदनाम गर्न शानिवार राती शितल निवास पुर्याएको भनी स्पष्टिकरण दिएका दाहालले प्रम ओलीलाई पनि भेट्ने र आफ्ना निकटस्थहरुलाई पनि आश्वस्त पारिरहने दुवै कार्यनीतिको प्रयोग गरिरहेका छन् ।

छलफलमा पूर्वमाओवादी पक्षधर स्थायी समिति सदस्यहरू रहेको बताइएको छ । गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट व्यक्तिगत समस्याका कारण उपस्थित हुन नसकेको बताइएको छ । अब के गर्ने भन्ने विषयमा रायसुझाव लिनका लागि अध्यक्ष प्रचण्डले नै यो बैठक बोलाएको भनिएको छ ।

पूर्वमाओवादी तर्फका स्थायी समिति सदस्य सबै प्रचण्ड–माधव नेपालको पक्षमा रहेको बताइँदै गर्दा गृहमन्त्री रामबहादुर थापा तथा उद्योग वाणिज्यमन्त्री लेखराज भट्टको अनुपस्थितिले केही आशंका भने उब्जाएको छ । पार्टीभित्र देखिएको गतिरोध अन्त्यका लागि भनी बोलाइएको छलफलमा पार्टीभित्रको गतिरोध नै के हो भन्ने कुरामा बल्झिइरहेको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी तथा सरकार चलाउने कुरामा देखिएको कमी कमजोरी तथा असक्षमताका कारण दुवै जिम्मेवारीबाट राजीनामा मागिएपछि पार्टी आन्तरिक विवाद ध्रुवीकरणतिर सोझिएको थियो । पार्टीका अध्यक्ष तथा प्रम केपी शर्मा ओलीले तीब्रतामा लबिङ गर्दै गएपछि प्रचण्ड–नेपाल पनि आफ्नो शक्ति र लबी सुदृढीकरणतिर लागेका थिए ।

त्यसो त पार्टी शीर्ष नेताहरुबीचमा एकअर्कामा विश्वास नभएको देखिन्छ । पार्टी अध्यक्ष द्वयमात्र बसेर गरिएको निर्णय केवल चोचोमोचो मिलाइएको मात्र हुन सक्ने भन्दै नेपालपक्षधर पनि उत्तिकै तरंगित हुँदै आइरहेको छ । पार्टी सचिवालयका केही नेता मिलेर जानुपर्ने अडानमा देखिन्छन् । स्थायी समितिका नेताहरुको राय पनि यस्तै देखिने गरिरहेको छ ।

तर पार्टी अध्यक्ष द्वय र शीर्ष नेताहरु भने ध्रुवीकरणको खिचातानीमा खुलेरै लागिरहेका छन् । एकताको विकल्प नभएको भनी ज्यान छाडेर प्रचार युद्धमा होमिनेहरुमा अध्यक्ष द्वयका साक्षी रहँदै आएका महासचिव विष्णु पौडेल र जनार्दन शर्मा नै अग्रपंक्तिमा देखिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्