गणतन्त्रको दुर्भाग्यः बयलगाढे नायकको प्रतिगमनमा मलामी बन्ने हतारो जनयुद्धवादीलाई – Janadesh Daily | ePaper

गणतन्त्रको दुर्भाग्यः बयलगाढे नायकको प्रतिगमनमा मलामी बन्ने हतारो जनयुद्धवादीलाई


जनादेश, काठमाडौँ ।

गएको दश दिनभित्र नेपालमा जे जति घटनाक्रम अघि बढेका छन् त्यसले नेपालमा जनआन्दोलन र माओवादी जनयुद्धले स्थापित गरेका सम्पूर्ण एजेण्डा धुलिसात पारेर प्रतिगमनको बाटो तय गरेको स्पष्ट भैसकेको छ ।

प्रधानमन्त्रीलाई संसद विघटन गर्ने विशेषाधिकार २०४७ सालको संविधानले मात्र दिएको थियो । तर गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरेर २०५१ सालमा मध्यावधि निर्वाचन गर्दा २०४७ सालको संविधानमा उल्लेखित व्यवस्थामा टेकेर गरेका थिए । ओलीलाई संसद विघटनको सिफारिस गर्न २०७२ को संविधानले त्यस्तो विशेषाधिकार दिएको छैन । त्यो कुरा सबैभन्दा बढी यही गराउने डिजाइनका नाइके सुवास नेम्वाङलाई सबैभन्दा बढी थाहा छ । संसद विघटन गर्ने कदमले प्रमाणित गरिदिएको छ– केपी ओलीलाई यो संविधान र व्यवस्थाप्रति होइन, आफ्नो व्यक्तिगत र गुटगत स्वार्थको मात्र चिन्ता छ ।

गणतन्त्रको नारालाई व्यङ्ग्य गर्दै बयलगाढा चढेर अमेरिका नपुगिने उदाहरण दिने ओलीको प्रतिगमनको भड्कालोमा त्यही गणतन्त्र स्थापित गर्न र संविधान सभाबाट संविधान जारी गर्न जनयुद्ध लडेकाहरु मिसिएको देख्दा गणतन्त्र, संघीयता लगायतका अग्रगामी व्यवस्थापका पक्षधरहरुलाई चरम घृणा अनुभव गरिरहेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिनिधि सभा विघटनको दिनको घटनाक्रम सुनाइरहँदा उनले प्रशिक्षण दिएका नेताहरु भने ओलीको प्रतिगमनमा मलामी बन्न पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको साथ छोडेर पाँच जना नयाँ मन्त्रीहरु थप गरी मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरी शपथग्रहण गराएका छन् ।

प्रधानमन्त्री र उनी पक्षीय नेताहरुको रणनीति प्रचण्डको साथ छोडेर आउनेलाई मन्त्री पदबाट पुरस्कृत गर्ने देखिएको छ । थपिएका मध्ये पाँचै जना पूर्व माओवादी खेमाका छन् ।

पूर्व माओवादीमध्येका टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ। ओलीले प्रभु साहलाई श्रममन्त्रीको जिम्मेवारी दिएका छन् । पर्यटनमन्त्रीमा मणि थापाले जिम्मेवारी पाएका छन् भने शिक्षामन्त्री दावा लामा र खानेपानीमन्त्री गौरीशंकर चौधरीलाई बनाइएको छ । उनीहरु सबै पूर्वमाओवादी समूहका हुन् ।

राजनीतिज्ञ, संविधानविद् र नागरिक समाजले प्रतिगमन भनिरहेको भंगालोमा पसेर ओलीको सती जान तयार भएका नेताहरुप्रति माओवादी जनयुद्धका सहभागी र समर्थकले धिक्कारेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्