स्वनाम साथीको समर्पण अनुकरणीय : अध्यक्ष दाहाल – Janadesh Daily | ePaper

स्वनाम साथीको समर्पण अनुकरणीय : अध्यक्ष दाहाल


काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका राष्ट्रिय सल्लाहकार परिषद्का सदस्य स्वनाम साथी (शशी शेरचन) को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । स्वनाम साथीको शुक्रबार राति उपचारका क्रममा मोडल अस्पतालमा निधन भएको थियो । पछिल्लो समय उहाँमा निमोनियाको समस्या देखिएको थियो ।

अध्यक्ष दाहालले आज शोक वक्तव्य जारी गर्दै आन्दोलनप्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जलि स्वनामको आदर्शपूर्ण पक्षका रूपमा रहेको बताउनुभएको छ । “उहाँको यिनै आदर्श कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय रहने छ”, अध्यक्ष दाहालले वक्तव्यमा भन्नुभएको छ । उहाँले स्वनाम साथीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

सम्पन्न परिवारमा जन्मेर पनि उहाँले विद्यार्थी जीवनदेखि नै सर्वहारा वर्गको मुक्तिका लागि सम्पूर्ण जीवन अर्पण गर्नुभएको थियो । स्वनामले विसं २०२५ मा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । विसं २०३३ मा उहाँकै नेतृत्वमा सर्वहारा कम्युनिष्ट लिग गठन भएको थियो ।

विसं २०३८ मा स्वनामले सर्वहारा श्रमिक सङ्गठन नेपाल निर्माण गरी किसान आन्दोलन चलाउनुभएको थियो । योग र ध्यान साधनामा लाग्नुभएका स्वनाम ‘ध्यान योग आरोग्य साधना नेपाल’ तथा शिक्षा मन्त्रालयद्वारा गठित ‘ध्यान योग प्रोटोकल कार्यदल, २०२०’ को संयोजकसमेत हुनुहुन्थ्यो । उहाँको जन्म विसं २००७ साउन १७ गते म्याग्दीको दर्वाङ–२ भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्