विकसित राजनीतिमा उत्तरको उच्च चासोः आज चिनियाँ टोली आउँदै – Janadesh Daily | ePaper

विकसित राजनीतिमा उत्तरको उच्च चासोः आज चिनियाँ टोली आउँदै


जनादेश वाच ।
नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे चीनले उच्च चासो प्रकट गरिरहेको छ । यो अवस्थाको वास्तविक तस्विर बुझ्न चीनको सत्तारुढ दल चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) ले आज उच्चस्तरीय टोली नेपाल पठाउने भएको छ ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई धारमा विभाजित बनेपछि नेकपा नेताहरूसँग भेटेरै बुझ्न सिपिसीको टोली नेपाल आउन लागेको हो ।

आइतबार सिपिसीको टोली नेपाल आउने टोलीले प्रधानमन्त्री, राष्ट्रपतिमात्र होइन नेकपाका असन्तुष्ट सबै पक्षका नेताहरुलाई भेटेर जानकारी लिने बताइएको छ ।

भ्रमण टोलीलाई सिपिसीको विदेश विभागका उपप्रमुख गुओ येझोउले नेतृत्व गर्ने बताइएको छ। टोलीमा चार सदस्य रहने छन्। टोली नेपालमा चार दिनसम्म बस्ने बताइएको छ।

टोलीले नेकपाको विभाजन रोक्नका लागि प्रयास गर्ने बुझिएको छ । टोलीको भ्रमण अघि नेपालका लागि चीनकी राजदूत होउ यान्छीले प्रतिनिधिसभा विघटनपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गरेकी थिइन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उनले भेट गरेकी थिइन्। भेटमा नेकपाको आन्तरिक राजनीतिबारे यान्छीले चासो व्यक्त गरेको बताइएको छ । यद्यपि प्रतिनिधिसभा विघटनपछि यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको भने सार्वजनिक भएको छैन ।

चीन नेकपा एकताका पक्षमा रहेको सन्देश दिँदै आएको छ । यसअघि नेकपा विभाजनको संघारमा पुग्दा पनि राजदूत यान्छीको सक्रियता बढेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्