नेकपा विवादको असर अब प्रदेशमाः प्रदेश १ मा अविश्वासको प्रस्तावको तयारी – Janadesh Daily | ePaper

नेकपा विवादको असर अब प्रदेशमाः प्रदेश १ मा अविश्वासको प्रस्तावको तयारी


जनादेश वाच ।

नेकपा विभाजन भएर कानुनी मान्यता प्राप्त गर्न मात्र बाँकी रहेका बेला त्यसको असर तल्लो तहमा पनि देखा पर्न थालेको छ ।

केन्द्रमा नेकपा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल नेतृत्वको समूहमा विभाजन भएपछि त्यसको असर प्रदेश देखा पर्न थालेको हो ।

प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोको नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको हो ।

मन्त्री आङबोलाई मुख्यमन्त्री राईले शनिबार मन्त्री पदबाट हटाएलगत्तै उनको अगुवाईमा अविश्वास प्रस्ताव दर्ता गर्न लागिएको हो ।

पदबाट हटाइएलगत्तै आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको बताएका छन् । उनले अब आफ्नो अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको जानकारी दिएका छन् ।

मन्त्री राई र आङ्वो मिल्ने साथी पनि हुन्

पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल समूहमा छन् । मुख्यमन्त्री राई प्रधानमन्त्री ओली निकट मानिन्छन् । ९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसद छन् । त्यसमध्ये प्रचण्ड-नेपाल पक्षका ४७ जना र ओली पक्षका २० जना मात्रै रहेको दावी गरिएको छ ।

नेकपा विभाजन हुँदा जुनसुकै बेलामा पनि ढल्न सक्ने अवस्थामा रहेका प्रदेश सरकारहरूमध्ये प्रदेश १ सरकार पनि हो । पार्टी एक हुँदा एक्लै दुईतिहाइ बढी सांसद रहेको प्रदेश १ मा पार्टी विभाजन भएसँगै दुवै समूहका नेकपा सांसद पनि विभाजित भएका छन् ।

प्रधानमन्त्री ओलीसँगै उनीपक्षीय मुख्यमन्त्रीहरू अल्पमत परेपछि प्रदेशसभासमेत विघटन गर्ने आशंका समेत गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्