दिल्ली दृष्टिः पूर्वराजदूत भन्छन्- ओली र ज्ञानेन्द्रबीच सम्झौता भएको हुनसक्छ – Janadesh Daily | ePaper

दिल्ली दृष्टिः पूर्वराजदूत भन्छन्- ओली र ज्ञानेन्द्रबीच सम्झौता भएको हुनसक्छ


जनादेश वाच ।

नेपालमा विकसित घटनाक्रमबारे नयाँ दिल्लीका विभिन्न दृष्टिकोण सार्वजनिक भैरहेका छन् । कतिपय कूटनीतिज्ञले चीनले गरेको प्रयास विपरित केपी ‌ओलीले संसद विघटन गरेको बताएका छन् भने कतिपयले दिल्लीसँग सहकार्यको हात बढाएको विश्लेषण गरेका छन् ।

यही क्रममा नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले ओलीले राजसंस्था फर्काउने सम्भावना रहेको बताएका छन् ।

भारतको राष्ट्रिय दैनिक ‘द ट्रिब्युन’ मा प्रकाशित लेखमा पूर्वराजदूत पुरीले वर्तमान घटनाक्रम हेर्दा नेपालमा राजसंस्था पुनःस्थापना हुने सम्भावनालाई नर्कान नसकिने उल्लेख गरेका छन् ।

पुरीले पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री ओलीबीच सम्झौता भएको हुन सक्ने आशंका गरेका छन्।

‘राजतन्त्र अन्त्यपछिको एक दशकसम्म पूर्वराजा चुपचाप रहेको भए पनि पछिल्लो समय राजतन्त्रवादीको देशव्यापी प्रदर्शनपछि भने नेपालमा सरकार र पूर्वराजा वा उनका पक्षधरसँग कुनै सम्झौता हुन सक्छ। पूर्वराजा वा उनका समर्थकसँग सम्झौताको सम्भावना अस्वीकार गर्न सकिँदैन’, पूर्वराजदूत पुरीले लेखेका छन् ।

पूर्वराजा र ओलीबीच राजसंस्था फर्काउने सहमति भएको हुन सक्ने पुरीको अनुमान छ। यसैबीच, नेपालमा राजनीति घटनाक्रम तीव्र रुपमा विकास भइरहेका बेला नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा परामर्शमा लागि दिल्ली उडेका छन्।

विमानस्थलस्थित सुरक्षा स्रोतका अनुसार राजदूत क्वात्रा शनिबार बिहान साढे ११ बजेको नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका हुन्। पछिल्लो १५ दिनको अवधिमा राजदूत क्वात्रा दोस्रो पटक दिल्ली उडेका हुन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्