विघटनको विरोधः नेकपाको जिल्लागत भेला, कांग्रेसको प्रदर्शन र नागरिक आन्दोलन – Janadesh Daily | ePaper

विघटनको विरोधः नेकपाको जिल्लागत भेला, कांग्रेसको प्रदर्शन र नागरिक आन्दोलन


जनादेश वाच ।

प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न पक्षले संघर्षका कार्यक्रम समानान्तररुपमा अघि बढाएका छन् । नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नागरिक समाजले समानान्तर संघर्ष थालेका छन् ।

संसद विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज आइतबार ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ । भेलामा प्रतिगमनविरुद्धको संघर्ष अगाडि बढाउन अभिमुखी कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ।

उक्त पक्षले १४ गते राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्नेछ। यस्तै, २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुनेछन्।

शनिबार बसेको उक्त पक्षको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तिब्रता दिने निर्णय गरेको थियो ।

उता, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध भोलि पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।

देउवाले शनिबार एक अपिल जारी गर्दै पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर उक्त कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गरेका छन् ।

कांग्रेसले संसद् विघटनविरुद्ध १६५ ओटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने निर्णय गरेको छ ।

नागरिक आन्दोलन पनि
पार्टी भित्रको विवादको रिस फेर्न प्रधानमन्त्री केपी ओलीले संसद नै भंग गरे पछि सडकमा नागरिक आन्दोलन पनि शुरु भएको छ । प्रतिगमन बिरुद्ध शनिबार बृहत नागरिक आन्दोलनका नाममा भेला भएका प्रदर्शनकारीले अनुहारमा राष्ट्रप्ति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरलाई ब्यग्य गरेर बनाईएको फेससिल्ड सहित प्रदर्शन गरे ।

उनीहरुले पुत्ला समेत प्रदर्शन गर्नुका साथै शंख समेत बजाएका थिए । उनीहरुले बोकेको प्लेकार्डमा समृद्धिको यात्रा, ओलीको गाईजात्रा जस्ता नारा लेखेका थिए । संसद विघटनको कदम असंबैधानिक भएकाले नसच्चिएसम्म आन्दोलन गर्ने नागरिक समाजले जनाएको छ । थप सशक्त कार्यक्रम घोषणा गर्ने समाजको तयारी छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्