अमेरिकी संसदको सभामुखमा फेरि पनि न्यान्सी पेलोसी – Janadesh Daily | ePaper

अमेरिकी संसदको सभामुखमा फेरि पनि न्यान्सी पेलोसी


एजेन्सी ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले सभामुखमा न्यान्सी पेलोसीलाई पुनः निर्वाचित गरेको छ ।

आइतबारदेखि सुरु भएको संसद बैठकले ८० वर्षीया पेलोसीलाई सभामुख निर्वाचित गरेको हो । पेलोसी १७ वर्षदेखि हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्रेटिक पार्टी नेता रहँदै आएकी छिन् ।

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिपछिको शक्तिशाली पदका रुपमा सभामुखलाई लिइन्छ। यदि राष्ट्रपति र उपराष्ट्रपति काम गर्न नसक्ने अवस्था भएमा सभामुख नै अमेरिकी राष्ट्रपति हुने प्रावधान रहेको छ।

गत नोभेम्बर ३ मा माथिल्लो सदन सिनेटका लागि एकसयमध्ये ३५ सिटमा निर्वाचन भएको थियो भने तल्लो सदनका सबै सिटमा निर्वाचन भएको थियो। निर्वाचित सांसदहरुले आइतबार नै सपथग्रहण गरेका छन्।

सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभमा केही सिटहरु भने अझै पूर्ति हुन बाँकी रहेको छ। जनवरी ५ मा जर्जियामा हुने निर्वाचनले २ जना सिनेटरको संख्या पूर्ति गर्नेछ। नोभेम्बर ३ को चुनावपछि सिनेटमा ४८ जना डेमोक्र्याट्स र ५० जना रिपब्लिकन सांसद रहेका छन् ।

त्यस्तै हाउस अफ रिप्रिजेन्टेटिभमा न्युयोर्कको २२ औं डिस्ट्रिक्टबाट सांसदको संख्या पूर्ति हुन बाँकी रहेको छ। मतान्तर निकै कम भएपछि त्यहाँ अदालतले पुनः मतगणनाको आदेश दिएको छ। त्यस्तै आयोवाको सेकेण्ड डिस्ट्रिक्टमा पनि झिनो मतान्तर रहेपछि विवाद रहेको छ ।

अब जनवरी ६ मा संसदको संयुक्त सदनले राष्ट्रपतिका लागि इलेक्टोरल मतहरु औपचारिक रुपमा गणना गर्नेछ। माइक पेन्सको अध्यक्षतामा यो काम हुनेछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्