पश्चिमी वायुको प्रभाव देशभर आंशिकदेखि सामान्य बदली: बुधबारसम्म वर्षा हुने – Janadesh Daily | ePaper

पश्चिमी वायुको प्रभाव देशभर आंशिकदेखि सामान्य बदली: बुधबारसम्म वर्षा हुने


काठमाडौँ ।

पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । “ठूलो वर्षाको सम्भावना भने छैन, बुधबारसम्म घाम लाग्ने सम्भावना भने कमै रहेको छ”, मौसमविद् श्रेष्ठले भन्नुभयो ।

उक्त प्रणाली बुधबारदेखि कमजोर हुँदै जाने बताइएको छ । काठमाडौँमा आज बिहान हल्का वर्षा भएको थियो । त्यस्तै उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात पनि भएको छ । हाल देशभर सामान्य बदली रहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम कर्णाली, गण्डकी, वाग्मती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, वाग्मती र प्रदेश नं १ को भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २० दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस शून्य दशमलव छ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १३ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्