हिउँले रोकिएका दुई जहाजको उडान – Janadesh Daily | ePaper

हिउँले रोकिएका दुई जहाजको उडान


सिमकोट ।

हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले आज उडान भरेका छन् । आइतबार बिहान नेपालगञ्जबाट उडान भरेका उक्त जहाज मध्यान्हपछि हिमपात हुँदा रोकिएका थिए ।

हिमपातले विमानस्थलमा रोकिएका जहाजले आज मात्रै उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जहाजमा रहेको ब्याट्रिमा सामान्य समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली लिएर अर्को जहाज आएको थियो । मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि जहाज रोकिएको सिमकोट विमानस्थका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका प्रायः बस्तीमा चार फिट भन्दा बढी हिउँ जमेको छ । अहिले सदरमुकाम सिमकोटमा एक फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८।० डिग्रीमा झरेको छ । आइतबार अपरान्हदेखि परेको हिमपातले हुम्लालगायतका हिमाली जिल्लामा हवाई सेवा बन्द भएको बताइएको छ ।

जुम्लाका किसान खुशी

जुम्लामा आज बिहान ३ः०० बजेदेखि हिमपात शुरु भएको छ । सदरमुकाम खलङ्गालगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात हुँदा यहाँका जनजीवन कष्टकर भएको स्थानीयवासी सुनिता पाण्डेले बताउनुभयो । हिमपात भएसँगै चिसोबढेपछि गाउँघरबाट सदरमुकाम अध्ययन गर्न आएका विद्यार्थीलाई आवतजावतमा कठिनाइ भएको तिला गाउँपालिका–१ राराबाट एसइईको तयारी गरिरहेका विद्यार्थी नमराज रावतले बताउनुभयो ।

यस वर्ष जुम्लामा पहिलोपटक हिमपात भएको हो । बिगतमा मङ्सिरबाटै हिमपात हुने गरे पनि यस वर्ष ढिलो हिमपात शुरु भएपछि यहाँका किसानले लगाएको गहुँ, जौँ र अन्य हिउँदे बालीदेखि स्याउका बिरुवालाई फाइदा गर्ने हुँदा हर्षित तुल्याएको किसान हरिप्रसाद रोकायाले बताउनुभयो । हिमपातपछि जुम्लाको तापक्रम माइनसममा झरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्