पृथ्वी राजमार्ग खोल्न अझै दुई दिन लाग्ने – Janadesh Daily | ePaper

पृथ्वी राजमार्ग खोल्न अझै दुई दिन लाग्ने


चितवन ।

पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ ।

सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । उहाँले भन्नुभयो, “मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ ।”

मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । यसका लागि नुवाकोटबाट जाली मगाइएको छ । बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ । बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उहाँले बताउनुभयो । स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग आज बिहान छलफल गरी काम अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन दुई दिन लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन । काम थालेपछि दुई दिन हामीलाई लाग्छ ।” अन्य खुला रहेका सडक प्रयोग गर्न उहाँले सुझाव दिनुभयो । वैकल्पिक मार्ग प्रयोग गर्नुको विकल्प अहिले नरहेको उहाँको भनाइ छ ।

यता नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन । डिभिजन सडक कार्यालय भरतपुरका ई शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन शुरु गरिनेछ । काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उहाँले जानकारी दिनुभयो । सो ठाउँमा सोमबार बिहान ५ बजे पहिरो खसेको हो । चार किलोको वरिपरि र अन्य ठाउँमा पनि साना पहिरो खसेको उहाँको भनाइ छ ।

मौसम अनुकूल भएमा यस सडकखण्ड भने आज सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ जाने र बाहिरिने धेरै सवारी साधन सडकमा अलपत्र परेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्