फरार अभियुक्तहरु बन्दाबन्दीमा धमाधम पक्राउ – Janadesh Daily | ePaper

फरार अभियुक्तहरु बन्दाबन्दीमा धमाधम पक्राउ


झापा,  रासस :

अपराध गरी लामो अवधिदेखि फरार रहेका अभियुक्तहरु बन्दाबन्दीका बेला धमाधम पक्राउ पर्न थालेका छन् ।

सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा झापा जिल्ला अदालतबाट दुई वर्षअघि एक वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएका विर्तामोड–१ का २५ वर्षीय सुशील बस्नेत पक्राउ परेका छन् ।

रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार ई वर्गको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा ए र बी वर्ग थपेर बस्नेतले कीर्ते लाइसेन्स बनाएका थिए । अरु बेला अन्यत्रै लुकीछिपी बस्ने गरेका अभियुक्त बस्नेत बन्दाबन्दीका बेला आफ्नै घरमा आएका थिए ।

प्रहरीले विशेष सुराकीको आधारमा उनलाई पक्राउ गरेको जनाएको छ । अदालतले कैद भुक्तानका लागि उनलाई झापा कारागार चलान गरेको छ ।

झापा गाउँपालिका–५ का ३४ वर्षीय रुपनारायण शिवाकोटी दोस्रो विवाह गरेको अभियोगमा विसं २०७० चैत ९ गतेको फैसला बमोजिम झापा अदालतबाट एक वर्ष पाँच महिना कैद र रु १५ हजार जरिवाना तोकिएका अभियुक्त हुन् ।

विवाह गरी फरार रहेका शिवाकोटी पनि अरु बेला अन्यत्रै भागीभागी हिँड्दै आएका थिए तर बन्दाबन्दीका बेला घर आएका उनलाई आइतबार पक्राउ गरी अदालतमा हाजिर गराइएको छ ।

हाल उनी कैद भुक्तानका लागि कारागार चलान भइसकेका छन् । नागरिकता, हत्या, बलात्कारलगायतका थुप्रै मुद्दामा कैद तोकिएका फरार अभियुक्तहरु बन्दाबन्दीमा प्रहरीले पक्राउ पर्ने गरेको प्रहरीको भनाइ छ ।

झापा जिल्लामा प्रहरीले गत एक वर्षमा ९० फरार अभियुक्त पक्राउ गरी उनीहरुबाट रु एक करोड सात लाख ७२ हजार २०० जरिवाना र जम्मा कैद ६१ वर्ष ११ महिना आठ दिन असुल गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्