राप्ती इञ्जिनियरिङ कलेजको बीसीएमा तेह्र जनालाई छात्रबृत्ति, इच्छुक विद्यार्थीले आवेदन दिनुपर्ने – Janadesh Daily | ePaper

राप्ती इञ्जिनियरिङ कलेजको बीसीएमा तेह्र जनालाई छात्रबृत्ति, इच्छुक विद्यार्थीले आवेदन दिनुपर्ने


जनादेश, दाङ।

कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंघ दाङको समन्वयमा राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा आइसिटी स्कलरसीप २०७७ प्रदान गरिने भएको छ । जसअन्तर्गत बिसिएमा हरेक बर्ष एक पूर्ण र १२ आंशिकसहित तेह्र जनालाई छात्रवृत्तिको ब्यवस्था गरिएको छ ।

क्यान महासंघ दाङले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । ग्रामीण क्षेत्रत्रमा सूचना प्रबिधिको विकास र सबै नागरिकमा यसको पहुँच विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम शुरु गरिएको क्यान महासंघ दाङले जनाएको छ । जसअन्तर्गत १३ जना विद्यार्थीले हरेक समूहमा १८ लाख ७५ हजार बराबरको छात्रबृत्ति पाउने छन् ।

जसअनुसार एक जनाले शतप्रतिशत छात्रवृत्ति पाउने छन् । उनले कलेजमा बुझाउनुपर्ने तीन लाख ५८ हजारमध्ये पोखरा विश्वविद्यालयमा बुझाउनुपर्ने ५८ हजार मात्रै बुझाउनुपर्ने छ र तीन लाख रुपैयाँ छूट पाउने छन् । त्यस्तै दुइ जना विद्यार्थीले ७५ प्रतिशत छूट पाउने छन् । जसअनुसार उनीहरुले दुइ लाख ७५ हजारका दरले छुट पाउने छन् । त्यस्तै पाँच जना विद्यार्थीले एक लाख पचास हजारका दरले छुट पाउने छन् भने अरु पाँच जनाले ७५ हजारका दरले छुट पाउने छन् ।

एउटा समूहमा कूल ४८ जना विद्यार्थी हुन्छन् । त्यसमध्ये पाँच जना विश्वविद्यालयबाटै छात्रवृत्तिको कोटामा आउँछन् । बाँकी १३ जनाले पनि पनि छात्रवृत्ति पाउने छन् । त्यसका लागि कक्षा १२ मा ४५ प्रतिशत वा सी ग्रेट प्राप्त गरेको हुनुपर्ने क्यान महासंघ दाङका अध्यक्ष कर्णबहादुर पुनले जानकारी दिनुभयो । अहिले कक्षा १२ को नतिजा पर्खेर बसेका विद्यार्थीले पनि छात्रवृत्तिका लागि फाराम भर्नसक्ने छन् । कक्षा १२ कम्प्युटर वा बिजिनेश म्याथ पढेकाले विद्यार्थीले फाराम भर्नसक्नेछन् ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघ दाङका अध्यक्ष कर्णबहादुर पुनको संयोजकत्वमा उपाध्यक्ष माधव अधिकारी, सचिव शालिकराम खनाल, कार्यकारी सदस्य शिवराज भुसाल र सदस्य शनि खनाल रहेको छात्रवृत्ति छनोट समिति गठन गरिएको छ । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघ दाङको फेसबुक पेज www.facebook.com/canfedarationdangbranch र राप्ती इञ्जिनियरिङ कलेजको वेबसाइट www.rec.edu.npमार्फत २००७७ माघ २० गतेभित्र आवेदन दिनुपर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । कक्षा १२ को नजिता नआएका विद्यार्थीले प्रवेशपत्रका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ताको प्रणापत्र र स्थानीय सरकारको प्रमाणपत्र पेश गर्नुपर्ने क्यान महासंघ दाङले जनाएको छ ।

प्राप्त निवेदनको आधारमा छात्रवृत्तिका लागि छनौट गरिने छ । जसका लागि दलित र जनजातिको हकमा ५ र अन्य जातिको हकमा ३, सामुदायिक विद्यालय अध्ययन गरेकालाई ५ र नजिी विद्यालय अध्ययन गरेकालाई ४, दुर्गम क्षेत्रका लागि ५ र सुगम क्षेत्रका लागि ३, प्रवेश परीक्षामा ५/५, आर्थिक अवस्था कमजोर भएकालाई ५/५ अंक गरी मूल्यांकन बिधि बनाइएको पनि क्यान महासंघ दाङले जनाएको छ ।

कार्यक्रममा कलेजको तर्फबाट बोल्दै प्रबन्ध निर्देशक भीमसेन गिरीले अहिलेसम्म विश्वविद्यालयको नियमअनुसारका धेरै छात्रवृत्ति उपलब्ध गराइएको भए पनि कलेजको तर्फबाट उपलब्ध गराउन थालिएको यो सबैभन्दा धेरै र पहिलो छात्रवृत्ति भएको बताउनुभयो । उहाँले यति महत्वपूर्ण काममा सहकार्य गरेकोमा क्यान महासंघ दाङलाई धन्यवाद दिनुभयो ।

क्यान महासंघ दाङका अध्यक्ष पुनको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष एवं कलेजका प्रिन्सिपल रेशम गिरी, महासंघका केन्द्रीय लेखा समिति सदस्य एवं कलेजका प्रबन्ध निर्देशक भीमसेन गिरी, कलेजका निर्देशक मधुसूदन वैद्य, महासंघका प्रदेश उपाध्यक्ष कृष्ण ओलीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन क्यान महासंघ दाङका उपाध्यक्ष माधव अधिकारीले गर्नुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्